सामा–चकेवा प्रतिमा निर्माण कार्यशाला सुरु, आउँदो शनिवार सामा–चमेवा खेल प्रतियोगिता
वि.सं.२०८३ मंसिर १ मंगलवार १७:५८
shares

सारांश
- मैथिली भाषा, साहित्य, कला, संस्कृतिको उन्नयनमा कृयाशील मैथिली विकास कोष, जनकपुरधामको आयोजनमा मंगलवारदेखि सामा–चकेवा प्रतिमा निर्माण कार्यशाला सुरु भएको छ ।
- माटो निर्मित प्रतिमाहरुको माध्यमले खेल आयोजन हुने पनि यसको कथावस्तु भने गीतको माध्यमले भन्ने चलन छ ।
- मैथिली लोक खेल, लोक नृत्य, लोकगीत तथा संगीतको संरक्षण सम्बर्धनको उद्येश्यले कार्यक्रम आयोजन गरिएको उनले बताएका छन् ।
जनकपुरधाम । मैथिली भाषा, साहित्य, कला, संस्कृतिको उन्नयनमा कृयाशील मैथिली विकास कोष, जनकपुरधामको आयोजनमा मंगलवारदेखि सामा–चकेवा प्रतिमा निर्माण कार्यशाला सुरु भएको छ । कोषको जनकपुरधाम ८ याज्ञवल्क्य संस्कृति माध्यमिक विद्यालयस्थित बहुउद्येशीय मैथिली भवनमा आयोजित कार्यशालामा २५ जना सिकारु सहभागी छन् ।
प्रतिशक्षक रुवी पाठकले दिएको जानकारी अनुसार, सहभागी भाई बहिनीलाई सामा–चकेवा खेलमा प्रयोग हुने सामा, चकेवा, चगला, बृन्दावन, बटतकनीलगायतका पात्रहरुको प्रतिमा निर्माण सम्बन्धी सिप सिकाईने छ । मिथिलाञ्चलको लोकप्रिय सामा–चकेवा लोकपर्व कार्तिक शुक्ल पक्षको पञ्चमीदेखि पूर्णिमासम्म गाउँ गाउँ मनाईने परम्परा छ । गाउँ–टोलकी महिलाहरु यी प्रतिमाहरु माटोबाट स्वयं निर्माण गर्छन । निर्मित पात्रहरुको प्रयोग गरि सामा–चकेवा खेल प्रर्दशन गरिन्छ ।
कृष्णका छोरा शाम्ब र छोरी श्यामाबीचको स्नेहको कथा स्कन्ध पुरानमा वर्णित छ । यसै कथाको आधारमा यो लोकखेल आयोजन गरिन्छ । माटो निर्मित प्रतिमाहरुको माध्यमले खेल आयोजन हुने पनि यसको कथावस्तु भने गीतको माध्यमले भन्ने चलन छ ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार, सामा– चकेवा प्रतिमा निर्माण कार्यशाला तथा खेल प्रतियोगिताको यो तेश्रो सृंखला हो । मैथिली लोक खेल, लोक नृत्य, लोकगीत तथा संगीतको संरक्षण सम्बर्धनको उद्येश्यले कार्यक्रम आयोजन गरिएको उनले बताएका छन् ।
यसैगरि आउँदो शनिवार जानकी मन्दिर प्रांगणमा सामा–चकेवा खेल प्रतियोगिताको आयोजन हुदै छ । जसमा जनकपुरसहित गाउँ गाउँका १५ समूह सहभागी हुने छन् ।
‘सामा–चकेवा खेल प्रतियोगितामा गाउँ गाउँका समूहसंगै ७ विद्यालयका बहिनीहरु पनि प्रतिष्पर्धा गर्ने छन् । बालबालिकाहरुलाई मैथिली संस्कृतिप्रति आकर्षित गर्न यस वर्षदेखि विद्यालयस्तरीय छुट्टै प्रतियोगिता गर्न लागेका हौं,’ चौधरी भन्छन् ।

























