दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि छायाँनाथ रारा–४ ‘यल्लो’लाई
वि.सं.२०८३ मंसिर १ मंगलवार २०:३१
shares

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाको आयोजनामा सञ्चालित ‘दोस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८३’ सोमबार सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको प्रतियोगिताको उपाधि छायाँनाथ रारा नगरपालिका वडा नं. ४ को ‘यल्लो’ टोलीले जितेको छ ।
प्रतियोगितामा वडा नं. १ को ‘कर्णाली युनाइटेड एफसी’ दोस्रो भएको छ भने वडा नं. ४ कै ‘ब्लु’ टोलीले तेस्रो स्थान हासिल गरेको छ ।
‘युवामा क्षमता, खेलकुदमा एकता’ भन्ने मूल नाराका साथ नकआउट पद्धतिमा सञ्चालन गरिएको प्रतियोगितामा नगरपालिकाका १४ वटै वडाबाट ४२ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, द्वितीय हुने टोलीले २ लाख २२ हजार २२२ रुपैयाँ र तृतीय हुने टोलीले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका नगरप्रमुख बिष्णु कुमार भामले बताए ।
युवालाई खेलकुदप्रति आकर्षित गर्ने, स्थानीयस्तरमा फुटबल खेलको विकास गर्ने तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताको समापन समारोहमा बोल्ने वक्ताहरूले खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी युवाको प्रतिभा विकास, स्वस्थ जीवनशैली, अनुशासन र सामाजिक एकता कायम गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले गाउँगाउँमा लुकेर रहेका खेलप्रतिको प्रतिभाको पहिचान, विकास र प्रोत्साहनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरिएको छ । नगरपालिकाले मेयर कप मात्र नगरी खेलमैदानको व्यवस्था तथा नियमित खेललाई अगाडि बढाउनका लागि खेल प्रशिक्षकको व्यवस्था गरिदिएको भए नियमित रूपमा खेल क्षेत्रमा अगाडि बढ्न सहज हुने थियो ।
‘
अघिपछिको समयमा खेत, बारीमा खेल खेल्नुपरेको छ । कुनै निकायले आयोजना गरेपछि मात्र पालिकाभरिको एक मात्र फिल्ड भएको महाकाली उच्च माध्यमिक विद्यालयको खेल मैदानमा खेल्नुपरेको छ । जुनसुकै खेलका खेलाडी उत्पादन गर्ने लक्ष्य भए नगरपालिकाले पहिलो प्राथमिकतामा खेलमैदान निर्माण गरिदिएको भए निकै राम्रो हुने थियो,’ फुटबल खेलाडी सुदिप भामले बताए ।

























