विराटनगर महानगरपालिकाको लापर्बाही : डस्टबिन रित्तै, फोहोर भुइँमा
वि.सं.२०७५ पुस १ आइतवार १८:२५
shares

केही समयअघि विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा राखेका डस्टबिन अहिले प्रयोगविहीन बनेका छन् । सडकमा जथाभावी फ्याँकिने फोहोर कम गर्न महानगरपालिकाले बजार क्षेत्रमा राखेका डस्टबिन संरक्षणमा चासो नदिँदा सदुपयोग हुन सकेको छैन । अधिकांश डस्टबिन ढलेर र फुटेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।
विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापन तथा वातावरण सुधार परियोजनाअन्तर्गत बजार क्षेत्रका सडकमा फाल्ने फोहोर कम गर्न प्रतिगोटा करिब १९०० रुपैयाँ लागतमा ३ लाख ८० हजारको दुई सय डस्टबिन किनेर महानगरका विभिन्न क्षेत्रमा राखेको थियो । डस्टबिन राख्ने कार्यको गएको असार २४ मा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका थिए । तर, महानगरपालिकाले राखेका डस्टबिनहरुको अहिले कुनैको बिर्को हराएका छन्, कति राखेको ठाउँमा छैनन्, कुनै ठाउँमा दुईवटा राखिएका छन् भने बजार क्षेत्रमा राखिएका डस्टबिनहरु सडकमा तथा फुटपाथमा ढलिराखेका छन् ।
बजारक्षेत्रमा राखिएका ती डस्टबिनमा फोहोर हालेको भेटिँदैन । डस्टबनबाहिर फोहोर थुप्रिएको भेटिन्छ भने डस्बिन खाली भेटिन्छन् । यस्तै केही डस्टबिनमा स्थानीयले समेत घरबाट कुहिने तथा दुर्गन्धित हुने फोहोर ल्याएर फ्याँक्ने गरेको पाइएको छ । सडकमा हिँड्ने व्यक्तिले डस्टबिनमा फोहोर नफ्याँकेर बाटोमा फ्याँक्ने र कसैले वास्ता नगरी डस्टबिन सडकमा ढालेर हिँड्ने गरेको नगरबासी बताउँछन् ।
विराटनगर–५ का महेन्द्र रामले सडकमा हिँड्ने व्यक्तिले फोहोर डस्टबिनमा नफाल्ने गरेको र सडकमै जथाभावी फाल्ने गरेकाले नगरका विभिन्न स्थानमा डस्टबिन राख्नुको अर्थ नरहेको बताए । उनले भने, ‘बाटोमा हिँड्ने मान्छेहरु त परै जाओस्, आसपासका स्थानीय व्यपारी र नगरबासीले पनि फोहोर डस्टबिनमा हाल्दैनन्, कसैले फोहोर फालिहाले पनि डस्टबिनको बिर्को भुइँ राखिदिन्छन् । त्यति मात्र कहाँ हो र ! बजारमा प्लास्टिक टिपेर हिँड्नेहरुले डस्टबिन नै बोकेर लान्छन् र बिक्री गरिदिन्छन् ।’
त्यस्तै, मोरङ कटहरीका सिटी रिक्सा चालक गंगाराम मण्डलले पनि नगरवासीले डस्टबिन सदुपयोग गर्नुको साटो दुरुपयोग गर्ने गरेको बताए । उनले आफू सडकमा दिनहुँ सिटी रिक्सा चलाएर हिँड्दा महानगरका विभिन्न भागमा राखिएका डस्टबिनहरु सडकमै जताततै लडिरहेको भेटिने गरेको बताए ।
डस्टबिन सदुपयोगका लागि विराटनगर महानगरपालिकाले योजना बनाउनुपर्ने सुझाव उनले दिएका छन् । मण्डलले भने, ‘म बजारमा दैनिक सिटी रिक्सा चलाउँछु । कसैले पनि डस्टबिनमा फोहर फ्याँकेको देख्दिन । विराटनगरका विभिन्न ठाउँमा राखिएका डस्टबिन जतततै ढलिराखेको देख्छु । सदुपयोग नगर्ने हो भने किन पैसा खर्च गर्नु ? बरु डस्टबिन सदुपयोग गर्ने महानगरले कुनै योजना ल्याए राम्रो ।’
नगरको सरसफाइका लागि राखिएका ती डस्टबिनमा कसैको वास्ता छैन । डस्टबिन राखेपछि पनि सहरी सरसफाइमा कुनै परिर्वतन देखिएको छैन । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने स्थानीय बजारका पसलेलाई समिति बनाएर उनीहरुलाई नै संरक्षणको जिम्मा दिइने बताए । ‘डस्टबिनको सदुपयोगका लागि हामीले के गरेका छौँ भने स्थानीयलाई समेटेर समिति बनाइदिएर अगाडि बढ्ने सोचमा छौँ । जहाँ–जहाँ डस्टबिन राखिएको छ, त्यहीँका स्थानीय र व्यापारीलाई समेटेर डस्टबिनको जिम्मेवारी दिने र वडा कार्यालयबाट अनुगमन गराउने हाम्रो सोच छ, यो सकभर चाँडै सुरु गर्छौँ,’ उनले भने ।
महानगरलाई सफा र सुन्दर बनाउनका लागि राखिएका डस्टबिनको दुरुपयोग भइरहँदा महानगरले गरेको लगानी बालुवामा पानीसरह भएको छ । महानगरपालिकाले थालेका यस्ता सकारात्मक योजनालाई स्थानीय नगरबासीले साथ दिएर कार्यान्वयन गराउन तथा महानगरले आफ्ना योजनालाई थप व्यवस्थित बनाउन जरुरी रहेको स्थानीय बुद्धिजीवी बताउँछन् ।



























