उद्घाटनमा हूटिङ खाएका गच्छदार महासमिति बैठकमा किन भए लज्जित ?
वि.सं.२०७५ पुस २ सोमवार १८:००
shares

नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन सत्रमा रमाइलो भाषण गरेर सदस्यहरुको हुटिङ खाएका उपसभापति विजयकुमार गच्छदार बैठकमा भने लज्जित हुनुपरेको छ । सभापति शेरबहादुर देउवाले विधान विवाद समाधानका लागि केन्द्रीय समिति बैठकमा जानुपर्ने र आफू नआउन्जेल गच्छदारले बैठकको सभापतित्व गर्ने भनेपछि महासमिति सदस्यहरुले नाराबाजी गरेका हुन् ।
उनीहरुले गच्छदारलाई सभापति नमान्ने भन्दै नाराबाजी गरेपछि देउवा आधा घण्टाका लागि बैठक स्थगित गरेर बाहिरिएका नेता जगदीश्वरनरसिंह केसीले जानकारी दिए । ‘सभापतिले विधान पास गर्न म केन्द्रीय समिति बैठकमा जानु छ, त्यतिन्जेलसम्म बैठकको अध्यक्षता विजयले गर्छ भन्नुभो’ केसीले भने, ‘यसो भन्नेबित्तिकै महासमिति सदस्यहरुले हुटिङ गरे र गच्छदारलाई सभापति नमान्ने बताए, त्यसपछि सभापतिले आधा घण्टाका लागि बैठक स्थागित गर्नुभयो ।’ अब खाना खाने समयसमेत आवश्यक पर्ने भएकाले बैठक २ बजेपछि मात्रै बस्ने उनले बताए ।
महासमिति सदस्यहरुले भखरै पार्टीमा प्रवेश गरेका गच्छदारलाई कुनै पनि कुरा नसुनाउने बताएका थिए । ‘हिजो आएको उहाँलाई हामीले सभापति मान्ने कुरा हुँदैन,’ एक सदस्यले भने, ‘निर्वाचित भएको भए पनि त एउटा कुरा हुन्छ, टिका लगाएर उपसभापति बनाएको व्यक्तिलाई हामीले दुई घण्टा होइन, दुई मिनेट पनि किन मान्ने सभापति ?
विधानमा सहमति हुन बाँकी विषयमा कुरा मिलाउन सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदाधिकारी बैठक बसिरहेको छ । पदाधिकारि बैठकमा सहमति भए विधान मस्याैदा गर्न केन्द्रीय समिति बैठक बस्ने छ ।

























