टाढा–टाढाबाट आएका महासमिति सदस्यलाई कांग्रेस नेताले झुलाए
वि.सं.२०७५ पुस ३ मंगलवार २१:०६
shares

पार्टीलाई पुनर्जीवन दिन, संघीय संरचनाअनुसार विस्तार गर्न र संगठन चुस्त बनाउने ध्येयले महासमिति बैठकमा भाग लिन टाढा–टाढाबाट आएका महासमिति सदस्यलाई कांग्रेसका शीर्ष नेताहरुले झुलाएका छन् । महासमिति बैठकभन्दा अगाडि कैयौं समय विवाद गरेर विताएका नेताहरु महासमिति बैठक सुरु भएपछि विधान मस्यौदामा सहमति जुटाउन भन्दै हिँड्न थालेपछि सदस्यहरु निराश बनेका छन् । विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमिति बैठक नै ओझेलमा परेको छ ।
महासमिति बैठकको मंगलबार चौथो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको संख्या र चयन प्रक्रियाको विवादले प्रतिवेदन पेश हुन सकेको छैन । महासमिति सदस्यहरूले प्रतिवेदनमा सहमति कायम गरी बैठकमा छिटो पेश हुनुपर्ने माग गरेका छन् । शीर्ष नेतृत्वको रवैया देखेर महासमिति सदस्यहरु आक्रोशित बनेका छन् ।
मंगलबार विधान मस्यौदा प्रस्तुत नभएसम्म अन्य विषयमा छलफल नै नगर्ने भन्दै जिल्ला सभापति र कतिपय महासमिति सदस्यहरुले मञ्चमै पसेर नाराबाजी गरेका छन् । विधान मस्यौदामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मतभेद छ । देउवा पक्ष पदाधिकारी संख्या धेरै बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने अडानमा छ भने पौडेल समूह केन्द्रीय कार्यसमितिको संख्या बढाएसँगै पदाधिकारी संख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारी निर्वाचनमार्फ चुनिनुपर्ने पक्षमा छ । दुवै पक्षबीच ११ जना पदाधिकारी बनाउने सम्बन्धमा लगभग सहमति भए पनि चयन प्रक्रियाका बारेमा कुरा नमिल्दा महासमिति बैठक नै प्रभावित बनेको छ ।
विवादका कारण महासमिति बैठकमा यसअघि नै पेश भएका राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफल समेत ओझेलमा परेको छ ।
कांग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले हालको विधानअनुसारको पदाधिकारीको व्यवस्था र १४१ सदस्यीय केन्द्रीय समिति रहने फरक मतसहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरेको थियो । उक्त प्रतिवदेनको पदाधिकारीको संख्या र चयन प्रक्रियाको व्यवस्थाका सम्बन्धमा केन्द्रीय समितिमा सहमति हुनसकेको छैन ।
हाल कांग्रेसको विधानमा कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ ।
विधान मस्यौदा प्रतिवेदन पारित गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने भन्दै सोमबार महासमिति बैठक झण्डै तीन घण्टा स्थगन गरिएको थियो । तर, पार्टी शीर्ष नेतृत्वबीच उक्त विषयमा कुनै सहमति नभएपछि केन्द्रीय कार्यसमिति बैठक बस्न सकेन ।
विधान मस्यौदा प्रतिवेदन उपलब्ध नभएसम्म महासमिति बैठक अघि नबढाउन जिल्ला सभापतिहरुले दबाब दिइरहेका छन् । जसका कारण महासमिति बैठकमा भाग लिन टाढा–टाढाबाट काठमाडौं आएका महासमिति सदस्य रनभुल्लमा छन् । ‘कति काम छाडेर पार्टी भनेर आइयो, हामीलाई यता न उताको पारिदिए,’ उदयपुरका एक महासमिति सदस्यले भने, ‘रमिते हुन पो आइए छ ।’
कतिपय महासमिति सदस्य घर फर्किने विषयमा पनि सोच्न थालिसकेको बताउँछन् । ‘कतिपय साथीहरु अब यहाँ बसेर हुनेवाला केही छैन, आजै साँझको नाइट चढ्ने पनि भन्न थालिसके,’ ती सदस्यले भने ।
बैठकमा अहिलेसम्म सबै जिल्लाको प्रतिनिधित्व हुने गरी ७७ भन्दा बढी महासमिति सदस्यले पार्टी सङगठन, प्रस्तुत प्रतिवेदन र सरकारका काम कार्वाही लगायतका विषयमा बोलका छन् ।
‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको महासमिति बैठक पुस ४ गतेसम्म चल्नेछ । बैठकमा संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।
कांग्रेस महासमिति बैठकलाई निकै शक्तिशाली र दुरगामी निर्णय गर्ने बैठकका रुपमा लिइन्छ । कांग्रेस विधानअनुसार प्रत्येक वर्ष हुनुपर्ने बैठक प्रायः एक महाधिवेशनभित्र एकपटकमात्रै हुने गरेको छ
विधानमा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि बैठक भएको हो ।स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि महासमिति बैठक बोलाउन पार्टीभित्र तीव्र दबाब परेको थियो । निर्वाचन सम्पन्न भएको एक वर्षपछि बस्ने बैठकले हारको समीक्षा गर्नुका साथै संघीय संरचनाअनुसार विधान निर्माण गर्ने बताइए पनि शीर्ष नेतृत्वबीचको जुहारीले बैठकको औचित्यमाथि स्वयं महासमिति सदस्यहरुले प्रश्न गर्न थालेका छन् ।

























