मैदान हरियो पार्न पोखरा रंगशालामा खेतबारीको दुबो
वि.सं.२०७५ पुस ३ मंगलवार २१:५०
shares

कास्की जिल्ला फुटबल संघले पोखरा रंगशालाको फुटबल मैदानलाई हरियो बनाउन पोखरा क्षेत्रका खेतबारीबाट दुबो ल्याएर रोप्न थालेको छ । माघ १५ देखि २६ गतेसम्म पोखरा मनकामना कप फुटबल प्रतियोगिता हुने भएपछि संघले मैदान मर्मत गर्ने क्रममा खेतबारीबाट दुबो ल्याएर रोप्न थालेको हो ।
पोखरा रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यले डेढ महिनादेखि मर्मतमा जुटेको संघ कास्कीका अध्यक्ष मिलन गुरुङले बताए । ‘पोखरा रंगशालाको समयमै संरक्षण गर्न नसक्दा अहिले धेरै मेहनत गर्नुका साथै आर्थिक भार पनि थपिएको छ,’ उनले भने, ‘मैदानमा हरियो स्थानीय दुवो रोप्नका लागि बेमौसममा पनि पोखरा क्षेत्रका खेत तथा बारीबाट दुवो खोजेर ल्याइरहेका छौं ।’
मैदान मर्मतका क्रममा रंगशालाकै बोरिङबाट बिहान र बेलुका पानी हाल्नुका साथै दुवो रोप्दै, मैदानमा पागेमाटो, बालुवा, काठको धुलो, युरिया मल, कुखुराको मल र डिएपी हाल्दै आएको अध्यक्ष गुरुङले जनाए । अहिले मैदानमा भएको नराम्रो (बुच्का) झार उखेलेर फालिसकिएको छ । मैदान मर्मतका लागि करिब ६ लाख खर्च लाग्ने अनुमान संघको छ । हाल मैदानमा दैनिक २० जना कामदार खटिएका छन् ।
खेल मैदान व्यवस्थापक एवं पूर्व फिफा रेफ्री दिलिप रजकले फुटबल मैदानमा चिनियाँ दुबोभन्दा स्थानीय दुबो नै लाभदायक हुने बताए । संघले यसपटकको प्रतियोगितामा पनि तीन विदेशी टिमसहित १२ टिम मैदान उतार्ने भएको छ । संघले यसअघि नै मनकामना केबलकारका दुईवटा संस्करण सम्पन्न गरिसकेको छ ।

























