सुर्खेतको बेलचौर ‘खुसियाली नमुना गाउँ’ घोषणा
वि.सं.२०७५ पुस ३ मंगलवार २२:२९
shares

महिलाको नेतृत्वमा बराहताल–८, सुर्खेत बेलचौर खुसियाली नमुना गाउँ घोषणा भएको छ । बेलचौर आमा समूह बराहताल–८ को पाँचौं वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा बराहताल गाउँपालिका र किडाक संस्थाको समन्वयमा बेलचौरलाई खुसियाली नमुना गाउँ घोषणा गरिएको हो ।
२० वटा सूचक पार गरेको भन्दै समूहले बेलचौरलाई खुसियाली नमुना गाउँ घोषणा गरेको हो । बालविवाह नगर्ने, सबै बालबालिकालाई विद्यालय पठाउने, घरेलु हिंसामुक्त, प्रत्येक घरमा गोबर ग्यास भएको, छोरा र छोरीमा भेदभाव नभएको, खाद्यबाली र नगदेबालीमा प्रांगारिक मल प्रयोगलगायतका २० वटा सूचक पार गरेपछि बेलचौरलाई खुसियाली नमुना गाउँ घोषणा गरिएको समूहकी अध्यक्ष निर्मला दर्लामीले जानकारी दिइन् ।
कार्यक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले गाउँलाई नमुना गाउँ घोषणा गरेपछि बेलचौरको झनै जिम्मेवारी बढेको बताए । ‘२० वटा सूचक पार गरेपछि बेलचौर गाउँलाई नमुना गाउँ घोषणा गरिएको छ । यो सामान्य कुरा होइन । यस्ता खालका सूचक प्रत्येक वर्ष बढाउने गरी लाग्न जरुरी छ,’ उनले भने । नमुना गाउँ घोषणा गरेपछि बेलचौरलाई अझ धेरै जिम्मेवारी बढेको भन्दै अध्यक्ष बस्नेतले गाउँपालिकाबाट समूहलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
बराहताल–८ का अध्यक्ष मणिराज कार्कीले बेलचौरका दिदीबहिनीको काम अन्य क्षेत्रका दिदीबहिनीका लागि समेत प्रेरणादायी भएको बताए । त्यस्तै, किडाक नेपालका प्रशासकीय अधिकृत भरत शाहीले बेलचौरका दिदीबहिनी सराहनीय काम गरेको भन्दै निरन्तरता दिन आग्रह गरे ।


























