महिला-पुरूषमा समानता अउन अझै २०० वर्ष लाग्ने !
वि.सं.२०७५ पुस ३ मंगलवार २२:२९
shares

अहिले कार्यस्थलमा महिला र पुरूषबीच समानता कायम हुनुपर्ने भन्दै आवाज उठीरहेको छ । यो आवाज अहिले मात्र उठ्न थालेको होइन, धेरै भइसक्यो ।
तर, के यसले ती क्षेत्रमा महिला र पुरूषबीचको विभेद अन्त्य भयो त ? केही हदसम्म सुधार भएको मान्न सकिन्छ । तर, अझै पनि यस्ता कार्यहरू भइरहेका छन् । त्यसैले त समानताका आवाजहरू उठ्दै आएका छन् ।
तर, प्रश्न के हो भने कार्यस्थलमा महिला र पुरूषबीच समानता कहिले आउला ? एक रिपोर्टका आधारमा के देखिन्छ भने यो अन्त्य हुन अझै सदियौं लाग्नेछ । विश्व आर्थिक मञ्च (डब्लुइएफ)ले मंगलबार प्रकाशित गरेको आफ्नो रिपोर्टमा २०१७ को तुलनामा २०१८ मा तलब भत्ता लगायतका केही विषयमा भने सुधार भएका छन् ।
तर, उक्त रिपोर्टका अनुसार राजनीतिमा महिलाको घट्दो प्रतिनिधित्व तथा शिक्षा स्वास्थ्य सेवासम्मको पहुँचमा असमानताका कारण यो सुधार पनि धुमिल भएको छ ।
डब्लुइएफले सुधारको गतिलाई इंगित गर्दै यही गतिमा मात्र सुधार हुने हो भने आगामी १०८ वर्षसम्म शंसारभर महिला र पुरषबीचमा विद्यमान असमानता हटाउन सकिँदैन । कार्यस्थलमा हुने असमानता अन्त्यका लागि त २०० वर्ष लाग्न सक्छ ।
आइसल्यन्ड अग्रणी
महिला पुरूष समानताको दृष्टिमा आइसल्यान्ड शीर्ष स्थानमा छ । सबैभन्दा बढी समानता भएको मुलुक उक्त रिपोर्ट अनुसार आइसल्यान्ड हो । त्यस्तै नर्बे, स्वीडेन, फिनल्यान्ड क्रमशः सबैभन्दा बढी समानता भएका देस्रो तेस्रो र चौथो राष्ट्र हुन् ।
रिपोर्टका अनुसार त्यस्तै सिरिया, इराक, पाकिस्तान तथा यमन महिला पुरूषबीचमा सबैभन्दा बढी असमानता हुने राष्ट्र हुन् ।
१४९ देशमा महिला पुरूषबीच ४ क्षेत्रमा असमानता रहेको उक्त रिपोर्टको जिकिर छ । जसमा शिक्षा, स्वास्थ्य, आर्थिक अवसर तथा राजनीतिक शसक्तिकरण समावेश छन् ।
मञ्चको रिपोर्ट अनुसार शिक्षा स्वास्थ्य तथा राजनीतिक सहभागीतामा पछिल्लो वर्ष सुधार भएको थियो तर यस वर्ष यी तीन वटै क्षेत्रमा गिरावट आएको छ ।

























