प्रदेश ५ का चार जिल्लामा खाद्यान्न अपुग
वि.सं.२०७५ पुस ३ मंगलवार २२:५२
shares

प्रदेश ५ का चार जिल्लाले आफ्नो जिल्लालाई आवश्यक पर्ने खाद्यान्न पनि उत्पादन गर्न नसकेको तथ्यांक सार्वजनिक भएको छ । प्रदेश सरकारले यसरी आफ्नो जिल्लाको लागि आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न नसकी आयात गर्नुपर्ने अवस्थाका जिल्लालाई थप प्राथमिकतामा राखेर आवधिक योजना निर्माणको काम सुरु गरेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का योजना तथा अनुगमन महाशाखा प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेका अनुसार प्युठान, रोल्पा, बाँके र पश्चिम नवलपरासीमा उत्पादित खाद्यान्नको अनुपात जनसंख्याको अनुपातमा संयोजन गरी उक्त तथ्यांक निकालिएको हो । जसअनुसार सबैभन्दा कमजोर जिल्लाको रुपमा पश्चिम नवलरासी देखिएको छ ।
पश्चिम नवलपरासीमा कुल ३४ लाख ४० हजार ५० जनसंख्या छ भने खानयोग्य उत्पादन वार्षिक ४४ हजार १ सय ४३ टन उत्पादन हुने गरेको छ । जसलाई जनसंख्याको अनुपातमा रुपान्तरण गर्दा कुल आवश्यक खाद्यान्न ६२ हजार २ सय ७३ टन आवश्यक छ । तथ्यांकअनुसार ६ हजार २ सय ५ टन खाद्यान्न आझै अपुग हुन्छ ।
मन्त्रालयको तथ्यांकअनुसार खाद्यान्नमा रोल्पा पनि कमजोर छ । रोल्पामा कुल जनसंख्या २३ लाख २ हजार १ सय ५४ जना छ । कुल खानयोग्य खाद्यान्न ४४ हजार १ सय ४३ टन प्रतिवर्ष उत्पादन हुँदै आएको छ । जसलाई जनसंख्या अनुपातमा रुपान्तरण गर्दा २ हजार ५ सय २० टन खाद्यान्न अपुग छ । यस्तै, बाँकेमा एक हजार ७ सय ६७ टन र प्युठानमा एक हजार ७ सय ३० टन खाद्यान्न अभाव रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अद्यावधिक तथ्यांकअनुसार प्रदेश ५ को क्षेत्रफत १९ लाख ६९ हजार ७७६ हेक्टर रहेकोमा खेतीयोग्य जमिन ६ लाख ९७ हजार ३३१ हेक्टर छ । खेतीयोग्य जमिनको ७७ प्रतिशतमा खेती गरिएको छ भने सिञ्चित क्षेत्र ३९.६९ प्रतिशतमात्रै छ ।
मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले खाद्यान्न उत्पादनमा कमजोर देखिएका प्युठान, बाँके, रोल्पा र नवलपरासीमा उत्पादकत्व वृद्धि गर्ने योजना बनाएर लागू गरिने बताए ।
प्रदेश ५ मा खाद्यान्न उत्पादनमा बर्दिया अब्बल रहेको पाइएको छ । बर्दियाको जनसंख्या ४ लाख ५० हजार ४ सय ७० छ । एक लाख ४३ हजार २ सय २८ टन खाद्यान्न उत्पादन भएको बर्दियाबाट ६१ हजार ६ सय ९३ टन खाद्यान्न निकासी हुने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै, रुपन्देहीबाट ३७ हजार ३ सय २६ टन, कपिलवस्तुबाट २६ हजार ५ सय २, अर्घाखाँचीबाट २२ हजार २८, गुल्मीबाट १२ हजार २ सय २, दाङबाट ७ हजार ५६, पूर्वीरुकुमबाट ३ हजार १ सय २१ र पाल्पाबाट ५ हजार ९ सय ४२ टन खाद्यान्न निर्यात हुँदै आएको छ । प्रदेश ५ को कुल खाद्यान्न उत्पादन क्षमता २२ लाख ७४ हजार ६३२ टन रहेको मन्त्रालयले जनाएको छ ।

























