पोखरा विमानस्थल : ३१ महिनाभित्र सक्न निर्माणलाई तीव्रता
वि.सं.२०७५ पुस ४ बुधवार २०:४७
shares

राष्ट्रिय गौरवका अधिकांश आयोजना यतिबेला ‘गौरव’मा सीमित छन् । अर्थात्, आयोजनाका लागि गौरव गर्ने, काम माखो नमार्ने । तर, विभागीय मन्त्रीहरुको सक्रियता या संयोग केही आयोजनाको कामले अपेक्षित गति लिएका छन् । त्यसमध्येको एउटा आयोजना हो- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।
कतिपयले पर्यटनमन्त्री रविन्द्र अधिकारीको सक्रियताका कारण पोखरा विमानस्थल निर्माणले तीव्रता पाएको बताउने गरेका छन् । आयोजनाको काम-कारबाहीबारे उनले देखाएको चासोका कारण उनलाई ‘क्रेडिट’ दिनेहरु थप उत्साहित भएका हुनसक्छन् । तर, जे होस् विमानस्थलको कामको गति अहिले आशलाग्दो छ ।
विमानस्थल निर्माण आयोजनाले पनि समयमै काम सकिने केही आधारहरु दिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनका प्रमुख विनेश मुनाकर्मीले पोखरा विमानस्थल निर्माणको काम २० प्रतिशतभन्दा बढी सम्पन्न भएको बताउँछन् । ‘पोखरा विमानस्थल निर्माणको कामले अहिले तीव्रता पाएको छ,’ न्युज कारोबारसँग उनले भने, ‘माटो कटान ७० प्रतिशत सकिएको छ, रन वे, ट्याक्सी वे र एप्रोनमा सबवेस (पहिलो लेयर बिच्छाउने काम) सहित अर्को बेसकोर्ससमेत सकिएको छ ।’
कामले गति लिएसँगै आयोजनादेखि मजदुरसम्म उत्साहित देखिन्छन् । प्रमुख मुनाकर्मीले अबको तीन महिनाभित्र रन वे, ट्याक्सी वे र एप्रोनमा पहिलो, दोस्रो र तेस्रो तहको हुँदै पिच निर्माणको कामसमेत सकिने प्रस्ट पारे ।
विमानस्थलको सबै क्षेत्रको काम एकनाससँग अघि बढेको आयोजनाले जनाएको छ । प्रमुख मुनाकर्मीका अनुसार ह्याङगर टाइपिङको काम सकिएको छ । यससँगै फाउन्डेसन जग हाल्ने तथा पिल्लरको काम सुरु भइसकेको उनले जानकारी दिए । ‘टर्मिनल भवनको समेत जग हाल्ने काम भइसकेको छ भने रन वे को छेउछाउमा माटो भर्ने काम भइरहेको छ,’ मुनाकर्मीले भने, ‘विमानस्थलमा ड्रेन (नाला) बनाउने कामसमेत ७० प्रतिशत सकिएको छ ।’
विमानस्थल निर्माणले तीव्रता पाउनुमा उपकरण, प्राविधिक, मजदुर र अनुगमन सबै कुरा मिलेको छ । विमानस्थलमा दक्ष प्राविधिकसहित दैनिक सयभन्दा बढी चिनियाँ र तीन सयभन्दा बढी नेपाली मजदुर काममा खटिएका छन् । चीनबाटै ल्याइएका करिब ५० उपकरणलाई विमानस्थलमा भ्याइनभ्याइ छ ।
दुई हजार ५ सय मिटर रनवे रहेको पोखरा विमानस्थलको पूर्वीभागको उत्तरतर्फ ह्याङगर निर्माणको काम भइरहेको छ भने एप्रोन तथा ट्याक्सी वे को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ट्याक्सी वे रन वे देखि उत्तरतर्फ छ भने एप्रोन ह्याङगरको पश्चिम भागमा पर्छ । पोखरा विमानस्थलको केही भागमा कडा चट्टान भएकाले विस्फोटक पदार्थसमेत प्रयोग गर्नुपरिरहेको आयोजनाले जनाएको छ ।
पोखरा विमानस्थलको पहिलो र दोस्रो चरणको मुआब्जा वितरण कार्य सकिएको छ । तर, तेस्रो चरणको मुआब्जा वितरण करिब २० प्रतिशत अर्थात १० रोपनी जग्गाको मुआब्जा दिन बाँकी रहेको प्रमुख मुनाकर्मीले जानकारी दिए । मुआब्जाको तेस्रो चरणअन्तर्गत २ सय ५० जनामध्ये हालसम्म एक सय ९१ जनाले मात्र मुआब्जा बुझेको अन्य ५९ जनालाई मुआब्जा वितरण गर्न बाँकी छ ।
विमानस्थलका लागि साविक लेखनाथको रिठ्ठेपानीको डाँडा कटान गर्नुपर्ने अवस्था रहेको उनले जनाए । असारसम्म ३५ प्रतिशत काम सक्ने गरी निर्माण कम्पनीसँग सहकार्य गरेको आयोजनाले जनाएको छ । त्यसैगरी पोखरा विमानस्थलको बाहिरी भागमा आयोजनाको क्रममै रिङरोड बनाइने भएको छ । करिब १० किलोमिटर क्षेत्रमा २२ करोड लागतमा पक्की चक्रपथ निर्माण हुने भएको हो ।
सन् २०२१ जुलाई ११ भित्र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने गरी चिनियाँ सिएएमसी कम्पनीलाई ठेक्का दिइएको छ । कम्पनीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाईले सरकारले तोकेको समय सीमाभन्दा दुई–चार महिनाअघि सम्पन्न गर्ने गरी आयोजनको कामलाई गति दिइएको बताए ।
निर्माण कम्पनी सिएएमसीले सरकारलाई आयोजनाको पूरा डिजाइनको रिपोर्टसमेत पेस गरिसकेको छ । निर्धारित समय सीमाभित्र आयोजन सम्पन्न गर्न कुनै प्राविधिक समस्या आए रातिको सिफ्टमा भए पनि काम अघि बढाइने जनसम्पर्क अधिकृत चापागाईंले जानकारी दिए । ‘तर कुनै पनि बहानामा समय सीमाअगावै काम सम्पन्न गर्छौं,’ न्युज कारोबारसँग उनले भने । ६ वटा ब्याचिङ प्लान्ट कंक्रिट सप्लायर्सबाट आयोजनाको काममा निर्माण सामग्री प्रयोग गरिएको छ । आयोजनाले हाल होङ्सी सिमेन्ट कम्पनीबाट उत्पादिन सिमेन्ट प्रयोग गर्दै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ सिएएमसी कम्पनीलाई तोकिएको समय सीमाभन्दा करिब ६ महिनाअघि निर्माण कार्य सक्न आग्रह गर्र्दै आएका छन् । करिब ३७ रोपनीमा बन्ने पोखरा विमानस्थलमा करिब २२ अर्ब लगानी हुनेछ । अर्थ मन्त्रालयसँग सहायक ऋण सम्झौता भएसँगै २०१७ जुलाई ११ (२०७४ असार २७ गते) बाट विमानस्थल निर्माण सुरु भएको हो ।


























