‘नस्लवादी’को आरोप लागेपछि घानाको विश्वविद्यालयले महात्मा गान्धीको सालिक हटायो
वि.सं.२०७५ पुस ४ बुधवार २१:२०
shares

भारतमा अत्यन्तै श्रद्धाका साथ हेरिने महात्मा गान्धीमाथि ‘नस्लवादी’को आरोप लागेपछि घानाको एक विश्वविद्यालय उनको सालिक हटाउन बाध्य भएको छ । भारतमा राष्ट्रपिताका रूपमा आदर गरिने महात्मा गान्धीलाई नस्लवादीको आरोप लगाउँदै विश्वविद्यालय परिसरबाट उनको सालिक हटाउन लामो समयदेखि माग हुँदै आएको थियो ।
अफ्रिकी मुलुक घानाको राजधानी आक्रास्थित घाना विश्वविद्यालयमा दुई वर्ष पहिले गान्धीको सालिक स्थापना गरिएको थियो । तर, स्थापनाकालदेखि नै यसको विरोध हुन थाल्यो ।
सालिक स्थापनासँगै त्यसलाई हटाउन माग गर्दै प्रदर्शन पनि सुरू भयो । छात्र-छात्रा तथा फ्याकल्टीले विश्वविद्यालयमा गान्धीको सालिक स्थापना गरिएकोमा विरोध जनाए ।
पछिल्ला दुई वर्षदेखि गान्धीको प्रतिमा हटाउन माग राख्दै लगातार प्रदर्शन भइरहेका थिए । प्रदर्शनकारीले गान्धीलाई नस्लवादीको आरोप लगाउँदै क्याम्पसमा उनको लागि कुनै स्थान हुन नहुने माग राख्दै आएका थिए । परिणामस्वरूप गत डिसेम्बर ११ को राति क्याम्पसबाट उनको प्रतिमा हटाइएको द गार्जियनले उल्लेख गरेको छ ।

पछिल्ला वर्षहरूमा केहीले गान्धीलाई अफ्रिकी देशका समुदायमाथि अपमानजनक विचार राख्ने गरेको आरोप लगाएका उक्त रिपोर्टमा उल्लेख छ । गान्धीले अफ्रिकी समुदायको तुलनामा भारतीय सभ्य हुने आसय व्यक्त गरेको आरोप लगाइएको छ ।
घाना विश्वविद्यालयमा स्थापना गरिएको गान्धीको सालिक भारतले नै दिएको थियो । र, सन् २०१६ जुन १६ मा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले यसको अनावरण गरेका थिए ।
क्याम्पसबाट गान्धीको सालिक हटाइएपछि विद्यार्थीहरूले खुसी व्यक्त गरेको भारतीय अनलाइन ‘द वायर’ले समाचार लेखेको छ । द वायरले एक छात्रालाई एक छात्रालाई उदृत गर्दै लेखेको छ, ‘घानाका निवासिका लागि यो ठूलो जीत हो, यो सालिक हामीलाई लगातार हामी कती निम्न स्तरका छौं भनी झस्काइरहन्थ्यो ।’
त्यस्तै द गार्जियनसँग कुरा गर्दै भाषा, साहित्य तथा नाटक विभाग प्रमुख ओबाडेले कम्बोनले सालिक हटाउने विषय अत्मसम्मान सँग जोडिएको विषय भएको बताएका थिए । प्रतिमा हटाउने विषय आत्मसम्मानको जीत भएको उल्लेख गर्दै उनले द गार्जियनसँग भनेका छन्, ‘यदी हामी आफ्ना नायकप्रति आदर भाव राख्दैनौं भने विश्व कसरी हाम्रो आदर गर्छ ? यो अस्वेत गौरव तथा अत्मसम्मानको जीत हो ।’

























