विवादित र आलोचित मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग
वि.सं.२०७५ पुस ५ बिहीवार १६:१६
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा वर्तमान मन्त्रिपरिषद् असफल भएको भन्दै तत्काल पुनर्गठन गर्नुपर्ने आवाज जोडदार उठेको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंसिर २९ गतेदेखि जारी स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेताहरुले सरकारले जनताको चाहनाअनुरुप काम गर्न नसकेको भन्दै मन्त्री फेनुपर्ने धारणा राखेका हुन् ।
विषेशगरी विवादित र आलोचित बनेका मन्त्रीलाई तत्काल बर्खास्त गर्न नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग माग गरेका छन् । राणा शासन जस्तो आफ्ना आसेपासे र नजिकका भाइभारदारलाई मात्र पदमा लगिएकाले समस्या आएको नेताहरुको टिप्पणी छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालको धेरै नेताहरुले आलोचना गरेका छन् । यी ६ जना मन्त्री अन्यको तुलनामा बढी विवादित तथा आलोचित देखिएको र उनीहरुको भूमिकासमेत शंकास्पद देखिएको नेताहरुको टिप्पणी छ । यी मन्त्रीकै कारण सरकार बदनाम भएको र पार्टीसमेत दुर्नाम बन्दै भन्दै विकल्प लिईहाल्न नेताहरुले प्रधानमन्त्रीलाई सुझाएका छन् ।
पंं्रभावशाली नेताहरु वामदेव गौतमदेखि योगेश भट्टराई, भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गणेश साहलगायतले मन्त्री फेर्न बैठकमा दबाब दिइरहेका छन् । ‘बलियो सरकार बनेपछि विकासले गति लेला, कर्मचारीतन्त्रको कार्यशैलीमा परिवर्तन आउला, सुशासन होला, भ्रष्टाचार हट्ला, राजनीतिक स्थिरता होला, जनताका आधारभूत आवश्यकता निर्वाध रुपमा पूरा होलान् र विधिको शासन स्थापना होला भनेको, त्यसो भएन, मन्त्रीहरु कमाउ धन्दामा लागेका छन्, मन्त्रीहरुले जनतालाई निरासाबाहेक केही दिन सकेनन्,’ नेता घनश्याम भुसालले भने, ‘काम नगर्ने, भ्रष्टाचार गर्ने र शंकास्पद भूमिकामा रहने मन्त्री तुरुन्तैै हटाउनुपर्छ ।’
बैठकमा नेता सुरेन्द्र पाण्डेले अपराध र भ्रष्टाचार बढ्दा पनि अध्यक्षद्वय ओली र प्रचण्ड मुकदर्शक बनेको आरोप लगाए । उनले भने, ‘भ्रष्टाचार दिनप्रतिदिन बढ्दैछ । मन्त्री नै भ्रष्टाचारमा चुर्लुम्मै छन् । तर, अध्यक्षद्वयले त्यसविरुद्ध गतिलो ‘एक्सन’ लिन सक्नुभएको छैन । अपराध बढेको–बढ्यै छ । प्रहरी स्वयं अपराधमा संलग्न भएको खबर आउँछ । तर, नियन्त्रणको प्रभावकारी काम हुँदैन । यस्तो अवस्थामा भ्रष्ट मन्त्रीहरु राखेर किन सरकारले बदनामी कमाउने ?’
बुधबारको स्थायी कमिटी बैठकपछि नेता रघुजी पन्तले सरकार लोकप्रिय र गतिशील नभएको आरोप लगाए । उनले सरकारकार केही मन्त्रीले नालायकी पन देखाएको बताए । ‘सरकारले निरन्तर विवादित काममात्र गरिरहेको छ, जनतासमक्ष गरेका वाचा पूरा गर्न सरकार पूर्णतः असफल भएको छ,’ पन्तले भने, ‘यस्तो अवस्थामा हामीले टुलुटुलु हेरेर बस्न मिल्दैन । मन्त्रीहरूको कामको समीक्षा गरेर कसलाई फिर्ता बोलाउने भन्ने निर्णय तुरुन्त लिनुपर्ने आवश्यकता छ ।’
नेकपा स्थायी कमिटी बैठकमा कुन मन्त्रीमाथि कस्ता आरोप ?
रामबहादुर थापा
– शान्ति सुरक्षा दिन असफल
– निर्माण व्यवसायीमाथिको कारबाही स्थगित
रघुवीर महासेठ
– कामचोर निर्माण व्यवसायीको संरक्षण
– गृहमन्त्रीसँग कार्यक्षेत्र विवाद
– ‘सिन्डिकेट’ हटाउने म्याद थप
गोकुलप्रसाद बाँस्कोटा
– छुच्चो बोली, टर्रो व्यवहार
– सानातिना विषयमा छुद्र टिप्पणी
रवीन्द्र अधिकारी
– वाइडबडी विमान खरिद प्रकरणमा अनियमितताको आशंका
– विज्ञ समूहमा आलोचित÷आरोपित पात्रको मनोनयन
मातृकाप्रसाद यादव
– बजार अनुगमनमा बेवास्ता, कृत्रिम मूल्यवृद्धिलाई प्रोत्साहन
– निजी क्षेत्रप्रतिको अविश्वास
चक्रपाणि खनाल
– तरकारी बजारको अनुगमनको नाटक र ठूला व्यापारीलाई फाइदा
– भूमि व्यवस्थापनको स्पष्ट नीति नल्याएको


























