कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूबीच चर्काचर्की
वि.सं.२०७५ पुस ५ बिहीवार १८:०१
shares

पदाधिकारी विवाद मिलाउन बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूबीच चर्काचर्की परेको छ । बैठकमा विवाद उत्कर्षमा पुग्ने देखिएपछि उपसभापति विजय गच्छदार सहमतिको लागि भन्दै बाहिरिएका छन् ।
केन्द्रीय समितिमा कुरा मिल्न नसकेपछि नेताहरूले पुनः आ–आफ्ना गुट समात्दै कोठे बैठक थालेका छन् । ललितपुर जिल्ला सभापति मदन अमात्यको घरमा छुट्टै गोप्य बैठक बसिरहेको छ । गुट अन्त्य नगरी कांग्रेसको भलो नदेख्ने नेताहरूसमेत गुट बैठकमा सहभागी भएका छन् ।
कांग्रेसमा पदाधिकारी विवाद मंगलबार नै टुंगिएको बताइए पनि पार्टी सभापति शेरबहादुर देउवाकै कारण पुनः विवाद बल्झिएको नेताहरूले बताएका छन् । पूर्वसहमतिबाट देउवा पछि हटेकाले विवाद बल्झिएको उनीहरूको आरोप छ । पदाधिकारी विवाद टुंगिन नसकेपछि जारी महासमिति बैठक लम्बिने भएको छ ।
कांग्रेस शीर्ष नेताहरुले मंगलबार साँझ उपसभापति, महामन्त्री र सहमहान्त्री दुर्इ/दैए जना राख्ने र कोषध्यक्षबाहेक सबै निर्वाचित हुने सहमति गरेको बताइएको थियो । सोही सहमतिअनुसार बुधबार महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव अघि सारे । तर, समावेशी नभएको भन्दै देउवा पक्षीय नेताहरू फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, सीता गुरुङ, वीरबहादुर बलायर, किशोरसिंह राठोर, एनपी साउदलगायतले विरोध गरेका थिए ।
विवाद मिलाउन भन्दै आज बिहान बसेको केन्द्रीय समिति बैठकमा दुवै पक्षका नेता आ–आफ्ना अडानबाट टसमस नभएपछि चर्काचर्की भएको हो । बैठकबाट निस्किएका नेताहरू सहमतिको प्रयासका लागि भन्दै गुटगत भेलामा जुटेका छन् ।

























