जानकी मेडिकल कलेजका ३४ विद्यार्थीले परीक्षा दिन नपाउने
वि.सं.२०७५ पुस ११ बुधवार १८:०२
shares

जनकपुरस्थित जानकी मेडिकल कलेजमा अध्ययनरत ३४ विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ । मेडिकल कलेजमा अध्ययनरत ३४ जना भारतीय विद्यार्थीहरूले परीक्षा दिन नपाउने भएपछि उनीहरूको भविष्य अन्योलमा परेको हो ।
त्रिभुवन विश्वविद्यालयले उनीहरूलाई परीक्षा दिनबाट वञ्चित गरेको हो । विश्वविद्यालयले उनीहरूलाई प्रवेश परीक्षा नलिइकन एमबिबिएस पहिलो वर्षमा भर्ना गरिएको भन्दै परीक्षा दिनबाट वञ्चित गरेको छ ।
पटक-पटकको विद्यार्थी आन्दोलन तथा सञ्चालक फेरिइरहँदा चर्चामा आइरहने उक्त मेडिकल कलेज यो प्रकरणसँगै विवादित बन्न पुगेको छ । भारतीय एजेन्टहरूमार्फत प्रवेश परीक्षा नदिइ उनीहरू एमबिबिएस तहमा भर्ना भएका थिए ।
ती विद्यार्थीहरू वाइडरेन्ज कन्सलटेन्सीमार्फत जानकी मेडिकल कलेजमा भर्ना भएका थिए । उनीहरुको नामांकनको समयका सञ्चालक समेत फेरिएका छन् । वर्तमान सञ्चालकले उनीहरुलाई कलेजमा शुल्क दाखिला गरेको रसिद बुझाउन भनेका छन् । तर रसिद नभएको भन्दै उनीहरूले कलेजमा उक्त रसिद समेत बुझाउन सकेका छैनन् ।
कलेजले विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । सर्वोच्चको निर्णयपछि विद्यार्थीहरूले परीक्षा दिन पाउने कलेजले अपेक्षा लिएको छ । कलेज सञ्चालकहरुले सर्वोच्चको फैसला कुर्न विद्यार्थीहरुलाई आग्रह गर्दै आएका छन् ।
जानकी मेडिकल कलेजका प्रशासन भने यस्ता समस्या अन्य मेडिकल कलेजमा समेत भएको र उनीहरुको यस्तै खालको विद्यार्थीहरुलाई परिक्षामा सामेल गराउन अदालतले आदेश दिएकाले आफ्नो हकमा पनि समस्या समाधान हुने अपेक्षामा छ ।
वीरगञ्ज स्थित नेसनल मेडिकल कलेजमा पनि यस्तै प्रकृतिका ५८ जना विद्यार्थी अध्ययनरत्त छन् । उनीहरुले जाँच पनि दिइरहेका छन् । नेसनल मेडिकल कलेजले विद्यार्थी भर्ना गर्नु अगावै उच्च अदालत जनकपुरको वीरगञ्ज ईजलाशबाट अन्तरिम आदेश प्राप्त गरेको थियो ।
अदालतको सोही आदेश बमोजिम नेसनलमा विद्यार्थी भर्ना गरिएको छ । तर, जानकी मेडिकल कलेजले वीरगञ्ज ईजलासको आदेशलाई नजिर बनाएर पाटन उच्च अदालतमा दायर गरेको मुद्दा खारेज भएको छ । अहिले सर्वोच्च अदालतमा जानकी मेडिकल कलेजले मुददा हालेको कलेजका ईञ्चार्ज डा. अरुण कुमार गुप्ताले जानकारी दिए ।
एकै प्रकृतिका मुद्दामा अदालतको फरक आदेश र देशको दुईवटा विश्वविद्यालयको फरक नीतिको कारण पनि विद्यार्थीहरु ठगिएका छन् । काठमाडैं विश्वविद्यालयले नेपालमा प्रवेश परीक्षा नदिएका भारतीय विद्यार्थीहरुको समेत एमबीबीएस/बीडीएसमा नामाँकन गरेको र त्रिवि अन्तरगतकै नेसनल कलेज वीरगञ्जमा विद्यार्थी भर्ना गरिए पनि जानकी मेडिकल कलेजमा रजिष्ट्रेसनमा रोक लगाईएको जानकी मेडिकल कलेजको आरोप छ ।
विश्वविद्यालय र अदालतको फरक-फरक नीति र आदेशबाट विद्यार्थीहरुलाई समस्या आएको जानकी मेडिकल कलेजका ईञ्चार्ज डा. अरुण कुमार गुप्ताले बताए । विद्यार्थीहरुको समस्या समाधानका लागि कलेज व्यवस्थापन प्रयासरत रहेको जनाउँदै उनले विगतमा भएको त्रुटीको कारण अहिले समस्या देखिएको बताए । अहिले जानकी मेडिकलको एकल स्वामित्व ओपी पाण्डेको छ ।

























