फलोअप आठ : रक्सीको व्यापारमा राष्ट्रिय झण्डा, अदालत पुग्यो मुद्दा
वि.सं.२०७५ पुस १२ बिहीवार ००:४६
shares

रक्सीको व्यापारमा राष्ट्रिय झण्डाको प्रयोग गरिरहेको राज ब्रुअरीको ट्रेडमार्कसम्बन्धी मुद्दा अदालतमा पुगेको छ । राष्ट्रिय झण्डाअंकित लोगो राखेर बियर उत्पादन नगर्न उद्योग विभागले पत्राचार गरेपछि त्यसविरुद्ध उजुरी लिएर उच्च अदालत पाटन पुगेको राज ब्रुअरीसँग सम्बन्धित फाइल विभागले अदालतमा पेश गरेको छ । उच्च अदालत पाटनको आदेशअनुसार पुस ६ गते राज ब्रुअरीसँग सम्बन्धित फाइल अदालतमा पेश गरिएको उद्योग विभागअन्तर्गत ट्रेडमार्क शाखाका निर्देशक प्रेमप्रसाद लुर्इंटेलले जानकारी दिए । अदालतले विभागको निर्णय तत्काल कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश दिएको छ । अर्को पेसी भने तोकिएको छैन ।
विभागले गएको मंसिर १३ गते राज ब्रुअरीलाई दिइएको ट्रेडमार्क बदर गर्ने निर्णय गर्दै राष्ट्रिय झण्डाअंकित लोगो राखेर बियर उत्पादन नगर्न र नगराउन पत्राचार गरेको थियो । तर, उक्त निर्णयविरुद्ध राज ब्रुअरीको उजुरीपछि उच्च अदालतले मंसिर १३ गते विभागले गरेको राजब्रुअरीसँग सम्बन्धित निर्णयको सक्कल फाईल ईजलास समक्ष पेश गर्न आदेश दिएको थियो ।
‘उच्च अदालतबाट हामीकहाँ पत्र आएपछि पुस ५ गते राजब्रुअरीसँग सम्बन्धित निर्णयको सक्कल फाइलसहितकोे चिठी तयार गरेर ६ गते सम्मानित ईजालशमा पेश गर्यौं’ लुईंटेलले भने, ‘कानुन शाखामार्फत हामीले निर्णयसहितको टिप्पणी फाईल पेश गरेपछि अदालतले विभागको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ, अर्को पेसी तोकिएको छैन ।’
राज ब्रुअरीलाई उद्योग विभागले पत्रमा के भनेको थियो ?
उद्योग विभागले राज ब्रुअरीलाई राष्ट्रिय झण्डाअंकित चिन्ह बियरको बोतलमा प्रयोग नगर्न भन्दै लेखेको पत्रमा यस्तो उल्लेख छ :
‘राजब्रुअरीले नमस्ते ब्राण्डको बियरको ट्रेडमार्कको रुपमा राष्ट्रिय झण्डा निशानी आकारको लोगो राख्न यस कार्यालयमा विधिपूर्वक निवेदन दर्ता गरेको थियो । प्रचलित कानुन बमोजिम यस कार्यालयले बुलेटिनमा प्रकाशित गर्दा कुनै दाबी विरोध नपरेकोले स्विकृत भएको थियो । तर, राज ब्रुअरीले स्वीकृत ट्रेडमार्कअनुसार राष्ट्रिय झण्डा नमस्ते बियरको बोतलमा राखेपछि न्यूज कारोबार डटकममा प्रकाशित भएको समाचार र आम नागरिकका प्रतिकृयाप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ । यस विषयमा प्रकाशित भएका समाचार, आम जनताका प्रतिकृया तथा ट्रेडमार्क दर्ता ऐन, राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी निर्देशिका समेतको आधारमा यस उद्योग विभागबाट पहिला स्वीकृत ट्रेडमार्क बदर गर्ने निर्णय गरिएको जानकारी गराईन्छ । यसकारण उद्योग विभागको मंसिर १३ गते निर्णयअनुसार अब पूर्वस्वीकृत लेबल प्रयोग नगर्न तथा उत्पादन नगर्न नगराउनु हुन आग्रह गर्दछौं । विगतमा औद्योगिक बुलेटिनमा प्रकाशित ट्रेडमार्क पत्रसमेत फिर्ता गराईदिन आग्रह गरिन्छ ।’
विभागलाई अटेरी
उद्योग विभागले स्वीकृत ट्रेडमार्क बदर गरे पनि अदालती प्रक्रियाको फाइदा उठाउँदै राज ब्रुअरीले खारेज भएको लेबल प्रयोग गरिरहेको छ । उद्योग विभागको निर्णयमा असहमति राख्दै कानुनी उपचारका लागि अदालतमा जान पाउनु उसको अधिकार भए पनि राष्ट्रिय झण्डालाई रक्सीको व्यापारमा प्रयोग गरिरहनु दण्डनीय हुने विभागका कर्मचारी बताउँछन् ।
‘न्यायका लागि अदालत गएका हौं’
राज ब्रुअरीले भने उद्योग विभागको निर्णयबाट अन्यायमा परेकोले न्यायका लागि अदालत जानुपरेको दाबी गरेको छ । नमस्ते बियरको बोतलमा राष्ट्रिय झण्डाअङ्कित चिन्ह प्रयोग गर्न पाउनुपर्ने राज ब्रुअरीका कानुनी सल्लाहकार गुरु अधिकारी बताउँछन् । ‘यसबारे हामीले उजुरी हालेपछि, हाई कोर्टमा मुद्दा विचाराधीन छ, अर्को आदेश नआउन्जेलसम्मका लागि विभागको पछिल्लो निर्णय कार्यान्वयन नगर्न र नगराउन स्टे अर्डर छ,’ अधिकारीले न्यूज कारोबारसँग भने ।
कसरी भयो यत्रो हिम्मत ?
देशकै नाम चलेका उद्योगपति राजबहादुर शाहले देशको शान र पहिचानका रुपमा रहेको नेपालको झण्डा रक्सीको चिह्न बनाउने हिम्मत गर्नुलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् । कुनै पनि उद्योगबाट उत्पादित सामग्रीमा के–कस्तो चिह्न राख्ने भन्नेबारेमा पेटेन्ट डिजाइन र ट्रेडमार्कको दर्ता गर्ने व्यवस्था गर्न बनेको ऐन ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ साढे पाँच दशकदेखि कार्यान्वयनमा छ । सो ऐनको ६ नम्बर बुँदामा पेटेन्ट दर्ता हुन नसक्ने केही आधार स्पष्ट उल्लेख गरिएको छ । ६ नम्बर बुँदाको (घ) मा ‘कुनै प्रचलित नेपाल कानुनको बर्खिलाप हुने रहेछ भने’ सो चिह्न दर्ता हुन नसक्ने भनिएको छ । राज ब्रुअरीले नेपालको कानुन तथा विभिन्न कार्यविधिले निधेष गरेको राष्ट्रिय झण्डा वा निशान चिह्न आफ्नो ब्रान्डको पेटेन्ट लिएको थियो ।
हाल कार्यान्वयनमा रहेको मुलुकी संहिताले समेत व्यापारिक प्रयोजनका लागि राष्ट्रिय झण्डा वा निशान प्रयोग गर्न वर्जित गरेको छ । अर्कोतर्फ राष्ट्रिय झण्डा वा राष्ट्रिय गान प्रयोग कार्यविधिसमेत छ । त्यसमा पनि व्यापारिक प्रयोजनका लागि झण्डा वा निशान चिह्न प्रयोग गर्न नहुने उल्लेख छ । उद्योग विभागको ट्रेडमार्क शाखाबाट लिइने पेटेन्ट प्रक्रिया लामो र धेरै ऐन कानुन पार गर्नुपर्ने भए पनि ट्रेडमार्क शाखाले सहजै राष्ट्रिय झण्डाको नक्कल गरी पेटेन्ट दिएको थियो । ट्रेडमार्कको दर्ता गर्ने व्यवस्था गर्न बनेको ऐन ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ विपरित उद्योग विभागले नै पहिला स्विकृत दिएपछि राज ब्रुअरीले नमस्ते बियरमा राष्ट्रिय झण्डा ट्रेडमार्क प्रयोग गरेको थियो ।
राज ब्रुअरीलाई विभागले दिएको उक्त अधिकार ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ विपरित भएको समाचार न्युजकारोबारमा प्रकाशित भएपछि विभागले विगतमा औद्योगिक बुलेटिनमा प्रकाशित ट्रेडमार्क पत्रसमेत फिर्ता गराइदिन र प्रयोग गरिहरेको ट्रेडमार्क प्रयोग नगर्न तथा उत्पादन बन्द गर्न आग्रह गरेको हो । आफ्नो त्रुटीका कारण प्रचलित कानुनको बर्खिलाप हुने गरी सोही ट्रेडमार्क स्वीकृत भएको गल्ती स्विकार्दै विभागले राष्ट्रिय झण्डा वा निशान चिह्न राखिएको ब्रान्डको पेटेन्ट प्रयोग नगर्न राज ब्र्रुअरीलाई आग्रह गरेको हो ।
यो पनि पढ्नुहोस् ।
पैसा कमाउन मुलुककै इज्जतमाथि प्रहार : रक्सीको बोतलमा राष्ट्रिय झण्डा
फलो अप : राष्ट्रिय झण्डा दुरुपयोगमा उद्योग विभागकै संलग्नता, रक्सीको ब्रान्डिङमा राष्ट्रिय झण्डा
राष्ट्रिय झण्डाको दुरुपयोग रोक
फलो अप पाँच : राज ब्रुअरीसामु नियामक नै निरीह, सिडिओले बल्ल थाहा पाए

























