दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा
वि.सं.२०७५ पुस १२ बिहीवार ००:५५
shares

तिब्र आलोचनापछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । गत भदौमा तेस्रो कार्यकालको लागि प्राधिकरण अध्यक्षमा नियुक्ति भएका उनले बुधबार साझ सञ्चारमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठकमा पनि उनको नियुक्तिलाई लिएर व्यापक आलोचना भएको थियो । उनलाई बर्खास्त गर्न माग गर्दै ४३ स्थायी केन्द्रीय सदस्यले प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
झाले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो चरित्रहत्या भएको दाबी गरेका थिए । २०६९ मा प्राधिकरण अध्यक्ष नियुक्त भएका झाको कार्यकाल शेरबहादुर देउवा नेतृत्वको सरकारले थपेको थियो । केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै वैशाख दोस्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई अध्यक्षको रुपमा दैनिक कार्यसञ्चालनबाहेकका काम नगर्न निर्देशन दिएको थियो ।
असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ भदौ १४ पछि भएका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै झा बर्खास्तीमा परेका थिए । झाले सरकारको निर्णयविरुद्ध अदालतमा रिट दायरसमेत गरेका थिए । अदालतबाट सरकारको नाममा कारण देखाउ ओदश जारी भइसकेको अवस्थामा समेत झाले आफ्नो रिट फिर्ता लिएका थिए । त्यसपछि सरकारले पुन उनलाई नियुक्ति गरेको थियो ।

























