नेकपाको स्थायी समिति बैठक सकियो
वि.सं.२०७५ पुस १३ शुक्रवार १८:५१
shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेको राजनीतिक परिवेदन परिमार्जनसहित पारित गरेको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।
स्थायी समितिका नेताहरुले राखेको विचार र सुझावहरुलाई समेटेर परिमार्जनसहित अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्तभित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वको ८ सदस्यीय कार्यदल बनाएको छ । कार्य दलको संयोजकमा महासचिव पौडेल र सदस्यहरुमा रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य छन् ।
कार्यदलले दिएको सुझावलाई स्थायी समितिले अनुमोदन गरेपछि पार्टी एकीकरणको कामलाई पूर्णता दिने निर्णय पनि गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको सुझावलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि प्रतिबेदन पारित गरेको हो ।

























