प्रधानमन्त्रीको सुरक्षाका लागि साढे २ करोड !
वि.सं.२०७५ मंसिर ४ मंगलवार २३:३३
shares

राष्ट्रपतिको सवारी खरिदको लागी १८ करोड रुपैया खर्च गर्न लागिएको चर्चा चलिरहँदा प्रधानमन्त्री केपी ओलीको सचिवालयलाई सुरक्षा सामग्री खरिद गर्न अडाई करोड रुपैयाँ रकमान्तर गरिएको छ । अर्थ मन्त्रालयले विविध शीर्षकमा २ करोड ४२ लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री ओलीको सचिवालयलाई सुरक्षा सामग्री खरिद गर्न कात्तिक महिनामा २ करोड ४२ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

सरकारले कात्तिक महिनामा झण्डै साढे ६ अर्ब रुपैयाँ सहयोग शीर्षकमा खर्च र रकमान्तर गरेको छ । एउटा शीर्षकमा छुट्याइएको रकम अर्कै शीर्षकमा रकमान्तर गरेर ६ अर्ब २६ करोड ४४ लाख रुपैयाँ खर्च गरिएको छ । जसमध्ये प्रधानमन्त्रीको सचिवालयको सुरक्षाको नाममा मात्रै त्यति धेरै रकम उपलब्ध गराइएको हो ।

गत कात्तिक महिनामा मात्रै मन्त्री र कर्मचारीहरुको विदेश भ्रमणबापत ५३ लाख रुपैयाँ भन्दा धेरै रकम खर्च भएको छ । रक्षामन्त्री ईश्वर पोख्रेलको चीन भ्रमणका लागि १३ लाख बढी खर्च भएको अर्थमन्त्रालयले जनाएको छ । कर्मचारीको भ्रमणका लागि ३५ लाख ७७ हजार खर्च भएको छ ।
त्यस्तै नेपाली सेनालाई हातहतियार उत्पादन गर्ने प्लाण्ट खरिद गर्न २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ रकमान्तर गरिएको छ ।
त्यस्तै राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिलाई १ अर्ब ४६ करोड २६ लाख र राष्ट्रिय परिचयपत्र वितरणका लागि एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ रकमान्तर गरेर उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ ।

























