काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धरानमा आजदेखि महिला अन्तरराष्ट्रिय गोल्डकप

525
shares

सुनसरी । डी–१९ क्लब धरान उपमहानगरपालिका–१९ को आयोजनामा प्रथम धरान महिला अन्तरराष्ट्रिय गोल्डकप–२०८३ आजदेखि सुरु हुँदैछ । धरान रङ्गशालामा साँझ ६ बजेदेखि रात्रिकालीन रूपमा प्रतियोगिता सञ्चालन हुनेछ ।

धरानमा पहिलो पटक आयोजना हुन लागेको रात्रिकालीन महिला अन्तरराष्ट्रिय गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब र भारतको आक्वा फुटबल क्लब राँचीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा भारतसहित आठ टोली सहभागी हुँदैछन् । सहभागी टोलीमा एपीएफ क्लब, नेपाली आर्मी, नेपाल पुलिस क्लब, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, भारतको आक्वा फुटबल क्लब राँची (झारखण्ड), काँकडभिट्टा महिला फुटबल क्लब र आयोजक स्वर्णिम फुटबल क्लब धरान रहेका छन् ।

क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईका अनुसार प्रतियोगिताका सबै खेल रात्रिकालीन रूपमा सञ्चालन गर्न धरान रङ्गशालामा अस्थायी फ्लडलाइट जडान गरिएको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँसहित ट्रफी र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

अध्यक्ष राईले धरानमा यसअघि अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप आयोजना हुँदै आए पनि महिला अन्तरराष्ट्रिय गोल्डकप रात्रिकालीन रूपमा पहिलो पटक सञ्चालन गर्न लागिएको बताए । यसअघि धरानमा गोधूली कप फुटबल प्रतियोगिता एक पटक रात्रिकालीन रूपमा आयोजना गरिएको थियो ।