काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाकेको धानबाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

1.26K
shares

भद्रपुर ।  झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ । बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी प्रशासनले गरेको छ ।

शुक्रबार बिहान हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहितको टोली हात्ती प्रवेश गर्ने मुख्य क्षेत्र बाहुनडाँगी पुगेको थियो ।

भारतबाट जङ्गली हात्ती नेपाल प्रवेश गर्ने मुख्य नाका मेचीनगर नगरपालिका–४ बाहुनडाँगी पुग्दा किसान पाकेर पहेँलपुर भएको धान काट्न र ढुवानी गर्न व्यस्त थिए । स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीको समन्वयमा किसान बाली भित्र्याउन जुटेका थिए ।

स्थलगत अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले किसानको पाकेको बाली जोगाउनु अहिलेको प्राथमिकता भएको बताए । किसानले दुःख गरेर लगाएको बाली हात्तीबाट जोगाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइने उनको भनाइ थियो ।

“किसानले दुःख गरेर लगाएको बाली हात्तीबाट जोगाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउँछौँ । बाली भित्र्याउने समयसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्छौं”, उनले भने, “किसानले पनि पाकेको बाली सकेसम्म ढिला नगरी समयमै घर भित्र्याउनुहोला ।”

स्थानीय किसानले कम्तीमा पाँच दिनसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धानबाली सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए । किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।

स्थलगत अवलोकनपछि मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, सङ्घसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच अन्तरक्रियासमेत भएको थियो । हात्ती नियन्त्रणका लागि खटिएको सुरक्षा टोलीलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले टर्चलाइट र हाते माइक हस्तान्तरण गरेका थिए । ती सामग्री वडाध्यक्ष कार्कीको पहलमा उपलब्ध भएका हुन् ।

हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरीका १० जना, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी तथा स्थानीय युवासहितको टोली परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार तत्काल थप जनशक्ति परिचालन गरिने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का र सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका प्रमुख प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए ।

प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ ।