काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘कारागारलाई किताब अभियान’ले कैदीहरूमा आत्मविश्वास बढाउँछ : डिआइजी शाह

24.97K
shares

प्रहरी नायब महानीरीक्षक (डिआइजी­) महेशविक्रम शाहले कर्णाली प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेपछि ‘कारागारलाई किताब’ अभियान सुरू गरे । कैदीबन्दीहरुलाई असल नागरिक बनाउन यो अभियान सार्थक हुने उनको कथन छ । त्यसका लागि जीवनोपयोगी किताबहरु संकलन गरी कैदीहरुलाई प्रदान गरिने शाहले बताए । तर, प्रदेश राजधानी सुर्खेत कारागारमा क्षमता भन्दा बढी कैदी कोचिएर बस्नुपर्ने बाध्यताका बीच यो अभियान कत्तिको सार्थक हुने हो ? त्यो त समयले नै देखाउँछ ।

उता सरकारले पनि कारागारलाई सुधारगृहको रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ । एकातिर कारागारमा कैदीबन्दीहरु भेडा-बाख्रा जस्तो कोचिएर बस्नुपर्ने बाध्यता छ भने अर्कोतिर राज्यले कारागारलाई सुधारगृहको रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ । कर्णाली प्रदेशमा चलाईएको कारागारलाई किताब अभियानले कारागार सुधारगृहको रुपमा स्थापित हुन सहयोग पुग्ला त ? यसै विषयमा केन्द्रित रही सीता वलीले डिआइजी शाहसँग गरेको कुराकानी :

 

कारागारलाई किताब अभियान सुरु गर्नुभएको छ । यसको उद्देश्य के हो ?

कारागारका कैदीबन्दीहरु सधैँका लागि र पेशागत अपराधी होइनन् । विभिन्न कारणले अपराधी ठहर भएका उहाँहरु आफ्नो सजाय काटेपछि पुनः समाजमा नै फर्कनुपर्ने हुन्छ । उहाँहरुलाई कारागारमा समय बिताउन समेत धौ धौ भएको हुन्छ र त्यसै समयको बर्वाद गरिरहनुभएको हुन्छ । त्यसैले उहाँहरुको समयलाई सदुपयोग गर्न र जीवन उपयोगी किताबहरुले समाजमा पुनःस्थापनाका लागि हौसला बढाउन यो अभियान सुरु गरेका हौं । नेपाल सरकराले समेत कारागारलाई सुधारगृहको रुपमा रुपान्तरण गर्ने उदेश्य राखेको छ । त्यसलाई पनि ‘कारागारलाई किताब अभियान’ले  सहयोग गर्छ ।

 

कतिपय अभियानहरू बीचमै टुट्छन्, यो अभियानले निरन्तरता पाउला त ?

हामीले यो अभियान निरन्तर रुपमा सञ्चालन गर्ने उद्देश्य राखेका छौं । अभियानमा म मात्रै छैन, समाजसेवी, पत्रकार, लगाएतका व्यक्तीहरु समेत हुनुहुन्छ । मेरो नेतृत्वमा यो अभियान सञ्चालन हुँदैछ । सुर्खेतमा मात्र नभएर कर्णाली प्रदेशका सबै जिल्लामा रहेका कारागारहरुका कैदीबन्दीहरुलाई नै जीवन उपयोगी किताबहरु हस्तान्तरण गर्ने हाम्रो उद्देश्य छ । हाल कर्णालीका ८ वटा जिल्लामा मात्रै जिल्ला कारागार छन् । अबको ४ महिनाभित्र सबै जिल्लामा जिल्ला  कारागार स्थापना पनि भइसक्छ र यो अभियान निरन्तर रुपमा सञ्चालन गर्ने उद्देश्य छ ।

 

कारागार सुधारगृहको रुपामा रुपान्तरण होला त ?

अवस्य हुन्छ । कारागार सुधारगृह हुनु भनेको नै नैसर्गिक अधिकार प्राप्त र मानव अधिकारको प्रत्याभूती हुनु हो । कारागारका कैदीबन्दीहरु पनि समाजकै नागरिक हुन् । कुनै घटनाको दोषी ठहरिएका वा छानबिनका क्रममा कारागार चलान भएका उहाँहरुको पनि आधारभूत अधिकार प्राप्त गर्ने हक छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता कुराहरुको उपभोग गर्ने उनीहरुको अधिकारलाई पूरा गर्न सबै लाग्नुपर्छ । पूर्ण रुपमा कारागार सुधारगृहको रुपमा नभए पनि केहि हदसम्म भए पनि कारागारलाई किताब अभियानले सुधारगृहको रुपमा रुपान्तरण गर्न सहयोग पुग्छ । जीवन उपयोगी किताबहरु पढेर जीवनमा आत्माविश्वासका साथ बाँच्न कैदीबन्दीहरुलाई यो अभियानले सहयोग पुर्याउँछ ।

 

कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी बस्न बाध्य छन् । यस्तो अवस्थामा यो अभियान कसरी प्रभावकारी होला ?

कारागार कति क्षमताको छ र कति कैदीबन्दी राख्ने भन्ने कुरा सम्बन्धित निकायको हो । कारागार सुधारगृहमा रुपान्तरण हुन बस्ने बासको समेत राम्रो व्यवस्था हुनु जरुरी छ । उहाँहरू (कैदीबन्दी) जसरी रहनु भएको छ, त्यस्तै अवस्थामा पनि जीवनोपयोगी ज्ञानका पुस्तकहरू पढ्न सक्नुहोस् भन्ने यो अभियानको उद्देश्य हो । सुतेर, बसेर, उठेर जसरी पनि व्यक्तिले पढ्न सक्छ । त्यसको लागि व्यवस्थित कुर्सी टेबुल र सजाइएको कोठा नै हुनुपर्छ भन्ने छैन । निदाउन नपाएकाहरुलाई पनि समय बिताउन किताबले सहयोग गर्छन् भन्ने मलाई लाग्छ । कारागारमा रहेको सबै कैदीहरु यो अभियानले सुध्रन्छन् र पढ्छन् भन्ने पनि छैन । कम्तिमा आधा भन्दा बढी कैदीहरुमा हामीले अपेक्षा गरेअनुसारको सुधार आएमा त्यसलाई ठूलो उपलब्धी मान्नुपर्ने हुन्छ ।