प्रचण्ड भन्छन्- नयाँ क्रान्तिको सुरुवात भएको छ
वि.सं.२०७५ पुस २२ आइतवार २०:४३
shares

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा नयाँ क्रान्तिको सुरुवात भएको बताएका छन् । बुटवलमा आइतबार आयोजित एक कार्यक्रममा प्रचण्डले समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको सुरुवात भएको दावी गरे ।
‘अहिले जनतालाई भ्रमित बनाउने दायाँ कोणबाट वा बायाँ कोणबाट वा देशी बिदेशीबाट विभिन्न खेलहरु भएको छ,’ बुटवलमा लोक अभियान पाक्षिक पत्रिकाको लोकार्पण कार्यक्रममा प्रचण्डले भने, ‘यो नयाँ नया कुरा भने होइन ।’
प्रचण्डले प्रतिक्रान्ति अगाडि बढाउने चिन्तन अब आवश्यक नभएको जिकिर गरे । उनले जनलाई अन्धविश्वासतिर लैजाने, भ्रम छर्नेलाई सधैँको लागि चिर्न आवश्यक रहेको टिप्पणी गरे ।
जनमतको आधारमा जनताको पक्षमा भूमिका अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । क्रान्ति र परिवर्तनको तागतलाई अगडि बढाउन विश्वको पुँजीवाद, समाजवादी धारालाई लिएर अहिलेको क्रान्तिको आन्दोलन अगाडि बाउनुपर्ने बताए ।
विश्व क्रान्तिको आन्दोलन अहिले रक्षात्मक रहेको बताए । उनले विज्ञानको नियम अनुसार नै अगाडि र पछाडि बढ्ने गरेको भन्दै निहित स्वार्थ भन्दा वास्तविकताका आधारमा अघि बढ्नुपर्ने बताए ।
अहिलेको सबैभन्दा ठूलो अवसर हरेको भन्दै उनले यसको लागि निरन्तर काम गरेको दावी गरे । प्राप्त उपलब्धीहरुलाई निस्तेज पार्न विभिन्न कसरतहरु भइरहेको भन्दै उनले पराजित भएको बर्गले आफ्नो तागतलाई अगाडि बढाउन खोजेको आरोप लगाए ।

























