काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

व्यवसायी बन्दै शिक्षित युवा, पर्यटनमा आकर्षण

26.8K
shares

बेलायतको एक विश्वविद्यालयबाट एमबिए गरेकी लाजिम्पाटकी टिना राजभण्डारीलाई पर्यटन व्यवसाय गर्ने इच्छा जाग्यो । सूचना प्रविधि सम्बन्धी व्यवसाय थालेकी उनले एक्कासि पर्यटन व्यवसायमा लाग्ने निर्णय गरिन् । उनको सोचलाई साथ दिए ललितपुरका सगुन धाक्ख्वाले । स्वीडेनबाट इञ्जिनियरिङ विषयको अध्ययन गरेका धाक्वा र राजभण्डारीले संयुक्त रुपमा ‘पाटन हेरिटेज वल्क’ कम्पनी सुरु गर्ने निर्णय गरेका हुन् ।

पूरातात्विक सम्पदा हेर्न आउने पर्यटकको बसाई अवधी लम्ब्याउन र स्थानीय परिकारको स्वाद चखाउनका लागि पाटन, भक्तपुर, वसन्तपुर दरबार स्क्वायरलगायत सम्पदामा पुग्ने पर्यटकलाई कम्तीमा थप एक दिन घुमफिर गर्ने वातावरण सिर्जना गरिने कम्पनीका प्रमुख राजभण्डारीले बताए ।

कान्तिपुर इञ्जिनियरिङ कलेजमा सफ्टवेयर इञ्जिनियरिङ विषयमा स्नातक अध्ययनरत काठमाडौंका निपुल शाक्यले पनि आफ्नो आइटी व्यवसाय परिवर्तन गरी पर्यटन उद्यमी बन्ने योजना बनाए ।

एक महीनाको प्रयासपछि ‘डूल्वा डटकम’( पर्यटन ‘प्रडक्ट’ ) नामक कम्पनी स्थापना गर्ने सोचमा उनी पुगे । नेपालका पर्यटकीय गन्तव्य र सम्भावनाबारे सम्पूर्ण जानकारी दिने यो वेवसाइटमा ट्राभल एजेन्सी, फोटोग्राफी, ‘स्टोरी टेलर’ जस्ता सेवा उपलब्ध हुन्छ । यस गन्तव्य यात्रामा निस्कन चाहने पदयात्रीलाई सहज रुपमा पूरा जानकारी उपलब्ध गराइ यात्रालाई सुमधुर तुल्याउने विश्वास लिइएको छ ।

यस्तै सूचना प्रविधि विषयमै स्नातक गरिरहेही काठमाडौँकी आश्ना पौडेलले फरक किसिमको पर्यटन व्यवसाय अगाल्ने सोच बनाएकी छन् । ‘होमस्टा नेपाल’ नामक कम्पनी दर्ता गरेर राजधानीमै घरबास कार्यक्रम ‘होमस्टे’ मार्फत पर्यटकलाई सुलभ र गुणस्तरीय सेवा दिने उनले बताइन् ।

माथिका प्रतिनिधिजस्तै नवीन भट्टले पनि भिडियो सामग्री ‘फिरिरी नेपाल’,  नवीन अधिकारीले ‘सजिलो ट्रिप’लगायत १५ युवा व्यवसायी समूहले पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायमा नयाँ सोच र प्रविधिका साथ व्यवसाय प्रवर्द्धन गर्ने तयारीमा छन् ।

यसरी युवा पुस्तालाई एकै थलोमा जम्मा पारेर व्यवसायमा हौसाउने माध्यम हो ‘टुरिजम उद्यमी सिड क्याम्प’ ।

पर्यटन उद्योगमा युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले ‘उद्यमी इनोभेसन्स’ सँगको सहकार्यमा यस्तो कार्यक्रम ल्याएको हो । छनोटमा परेका १५ वटा समूहका युवा उद्यमीले आज अन्तिम प्रतिस्पर्धामा आ-आफ्ना व्यावसायिक योजना र लगानीको सम्भावनाबारे प्रस्तुति दिए ।

उनीहरुको व्यावसायिक योजनाका आधारमा व्यवसाय प्रवर्द्धनका लागि थप लगानी जुटाइदिन व्यवसायी तथा लगानीकर्ताको पनि जमघट गराइएको थियो ।

छनोट भएका कम्पनीलाई ‘उद्यमी सिड फण्ड’ले पनि थप लगानीमा सहयोग गर्ने उद्यमी इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत कविराज जोशीले जानकारी दिए । छनोट भएका कम्पनीलाई थुप्रै ठाउँबाट लगानीको आश्वासन आएको छ ।

पर्यटन क्षेत्रमा उद्यमी बन्न चाहने युवालाई कुन क्षेत्रमा कसरी लगानी गर्ने, सम्भावित बजार र लगानीकर्तासँग पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको उनले उल्लेख गरे । पर्यटन क्षेत्रमा योगदान पुर्याउने सम्भावना रहेका नवीन योजनालाई व्यवसायमा परिवर्तन गर्नसक्ने अवसर प्रदान गर्न ‘सिड क्याम्प’ आयोजना गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

बोर्डका अनुसार दक्षीण एसियामै पहिलोपटक आयोजना गरिएको यस्तो क्याम्पले युवा उद्यमीलाई आकर्षण गर्नाका साथै उद्यमशीलताको रुप लिएको छ । उक्त कार्यक्रममा लक्ष्मी बैंक तथा लक्ष्मी क्यापिटल, गेट कलेज, वर्ल्ड इनोभेसन्सलगायत संस्थाको सहकार्य छ ।

इच्छुक उद्यमीहरुबाट निवेदन माग गरिएकामा ६१ समूहले निवेदन दिएको र तीमध्ये विधागत छनोटका आधारमा २० वटा समूह छनोट गरिएको थियो । उक्त समूहलाई गत कात्तिक १३ देखि २० सम्म पोखरामा छ दिने उद्यमी बुट क्याम्पमा सहभागी गराइएकामा १५ वटा समूह व्यवसाय स्थापना गर्ने तयारीमा पुगेका हुन् ।

पर्यटन सेवाको स्तरोन्नति, क्षमता अभिवृद्धि, ‘डिजिटल टुरिजम’ प्रवर्द्धन, सामुदायिक पर्यटन विकास आदि विषयको आधारमा सम्बन्धित विज्ञहरुले युवा उद्यमी छनोट गरेका जनाइएको छ ।

‘पर्यटन उद्यमी सिड क्याम्प’ले आकांक्षी उद्यमीका योजनालाई जाँच्ने र परिस्कृत गर्ने सुवर्ण अवसर दिने उल्लेख गर्दै कार्यकारी अधिकृत जोशीले अन्ततः यसबाट नेपाल भ्रमण वर्षलाई समेत योगदान पुग्ने उल्लेख गरे ।

कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको पर्यटन क्षेत्रमा युवापुस्ताको आकर्षणका लागि गरिएको प्रेरणादायी कार्यक्रममा आफूहरूले पनि सहकार्य गर्न पाउनु खुशीको विषय भएको बताए ।

गेट कलेजका प्रमुख खेम लक्काइँले पर्यटकीय सेवाको गुणस्तर अभिवृद्धिका लागि नयाँ सोच र प्रविधिका साथ युवापुस्तालाई प्रोत्साहन गर्न उक्त कार्यक्रम उपयोगी हुने उल्लेख गरे ।

उद्यमी इनोभेसन्सले सन् २०१६ देखि युवा उद्यमशीलता विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । कम्पनीले सुरुमा महिला उद्यमशीलता, सन् २०१७ मा सूचना र प्रविधिको विकास सम्बन्धी र सन् २०१८ मा ‘टुरिजम उद्यमी सिड क्याम्प’ सञ्चालन गरेको हो । सन् २०१९ भित्र कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि उक्त कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको छ ।

उक्त क्यामको मुख्य उद्देश्य ‘ट्राभल्स’, ‘टुरिजम’ र ‘हस्पिटालिटी’ का क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन गर्न खोज्ने र पर्यटनमा पहिलादेखिनै व्यवसाय गरिरहेकालाई नयाँ सोचका साथ कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्यले उपयुक्त थलोको रुपमा सिड क्याम्पको अवधारणा ल्याइएको इन्नोभेसन्सका प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ थियो ।
सिबी अधिकारी/रासस