काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सभामुखले हुकुमी शैलीमा सदन चलाउन खोजे : कांग्रेस

16.23K
shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले ‘हुकुमी शैली’मा सदन चलाउन खोजेको आरोप लगाएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने आफ्नो माग पूरा नभएको भन्दै उसले त्यसलाई ‘हुकुमी शैली’का रूपमा टिप्पणी गरेको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुख महराको यो शैली नसच्चिएसम्म सदन अवरूद्ध गर्ने चेतावनी समेत दिएको छ ।

आइतबार संसदमा प्रधानमन्त्री ओलीको वक्तव्य सकिएलगत्तै कांग्रेसका सांसदहरूले उनीसँग प्रश्न गर्न अनुमति मागेका थिए । तर, सभामुखले अनुमति दिएनन् । त्यसलगत्तै कांग्रेस सांसदहरूले हो हल्ला गर्न थाले । त्यसपछि सभामुखले ‘सीमित सदस्यलाई’ प्रश्न गर्न दिने भन्दै डा. मिनेन्द्र रिजाललाई एक मिनेटको समय दिए । तर, धेरैले प्रश्न गर्न पाउनुपर्ने भन्दै कांग्रेस सांसदले विरोध गरेपछि सभामुख महराले अनुमति हटाए ।

त्यसपछि उनले सांसद कृष्णप्रसाद दाहाललाई प्रतिवेदन पेश गर्न समय दिए । त्यसलगत्तै कांग्रेस सांसदहरू रोष्ट्रम अगाडि उभिएर नारावाजी गर्न थाले । कांग्रेसको नाराबाजीकै बीच दाहालले प्रतिवेदन पेश गरेका थिए ।

त्यसपछि पनि नारावाजी नरोकिएपछि सभामुख महराले ‘१५ मिनेटका लागि’ संसद बैठक स्थगन गरे ।

संसदमा प्रधानमन्त्रीको वक्तव्य सकिएलगत्तै कांग्रेस सांसदले उठेर प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गरेका थिए । प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नदिने सभामुखको कार्यलाई कांग्रेसले ‘हुकुमी शैली’का रूपमा टिप्पणी गरेको छ ।

सदन स्थगित भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीलाई वक्तव्य दिन समय दिने तर विपक्षीलाई प्रश्न गर्न नदिने सभामुखको कार्यलाई ‘हुकुमी शैली’का रूपमा टिप्पणी गरे । उनले सभामुखको ‘एकपक्षीय व्यवहार’ नसच्चिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिए ।

थापाले सम्बोधनका क्रममा प्रधानमन्त्रीले तथ्यांक नै तोडमोड गरेको भन्दै प्रश्न गर्न खोजेको बताए । तर सभामुखले ‘सरकारको बचाउ गरेको’ थापाको आरोप थियो । उनले सभामुख महरा कुनै एक पार्टीको नभई सभामुखको भूमिकामा रहनुपर्नेमा जोड दिए ।