काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री शाहको भारत भ्रमणमा नयाँ हवाई रुटमा सहमतिको सम्भावना

399
shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि माग गर्दै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का विषयमा महत्वपूर्ण सहमति हुने सम्भावना देखिएको छ।

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारत प्रस्थान गर्नुभएको छ। करिब डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आए पनि निष्कर्षमा पुग्न नसकेको हवाई रुटको विषय यसपटक टुङ्गिने अपेक्षा गरिएको छ। पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएपछि प्रधानमन्त्रीको भ्रमणलाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

नेपालले महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुरबाट थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ। पछिल्लो द्विपक्षीय छलफलमा महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाजलाई नेपाल प्रवेश गर्न दिन भारत सकारात्मक देखिएको छ। त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि भारतीय पक्ष सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

नेपालले तत्काल सम्भव हुने तीनवटा हवाई प्रवेशमार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः वार्तामार्फत टुङ्ग्याउन प्रस्ताव गरेको छ। तर भारतले छुट्टाछुट्टै सहमति गर्नुभन्दा समग्र प्याकेजमै समझदारी गर्नुपर्नेमा जोड दिएको छ।

पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार भारतीय पक्षसँग हवाई प्रवेश बिन्दुका विषयमा प्याकेजमै छलफल भइरहेको छ। उनका अनुसार महेन्द्रनगरबाट जहाज प्रवेश गराउने र भैरहवा तथा जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा भारत सकारात्मक देखिएको छ।

मन्त्रालयका अनुसार कुनकुन प्रवेश बिन्दुबाट हवाई मार्ग उपलब्ध हुने भन्ने विषयमा अन्तिम सहमति भइसकेको छैन। यद्यपि, पछिल्लो छलफलमा देखिएको सकारात्मक वातावरणले प्रधानमन्त्रीको भ्रमणमा सहमति जुट्ने सम्भावना बढाएको छ।

महेन्द्रनगरबाट वैकल्पिक हवाई मार्ग

महेन्द्रनगरबाट नयाँ हवाई प्रवेशमार्ग उपलब्ध भएमा पश्चिम क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने अन्तरराष्ट्रिय उडानले वैकल्पिक मार्ग पाउनेछन्। यसले हाल बाराको सिमरा प्रवेश बिन्दुमाथि रहेको निर्भरता घटाउन र पश्चिमी क्षेत्रका विमानस्थलमा अन्तरराष्ट्रिय उडान सञ्चालन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रस्तावित हवाई मार्गका लागि आवश्यक उचाइ निर्धारण गर्न भने थप प्राविधिक अध्ययन गर्नुपर्नेछ। विमानको प्रकार, उडान दिशा, हवाई यातायात व्यवस्थापन, मौसम र सुरक्षालाई ध्यानमा राखेर मार्ग तय गर्नुपर्ने बताइएको छ।

भैरहवा र जनकपुरका लागि कम उचाइको रुट

महेन्द्रनगरबाट उच्च उचाइमा जहाज प्रवेश गराउने प्रस्तावसँगै भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि भारत सकारात्मक देखिएको मन्त्रालयको भनाइ छ।

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न भारतीय हवाई क्षेत्रसँग जोडिएको सहज प्रवेश तथा बहिर्गमन मार्ग आवश्यक मानिन्छ। भारततर्फको सहज हवाई सम्पर्क नहुँदा विमानस्थलको व्यावसायिक सञ्चालनमा चुनौती देखिएको छ।

त्यस्तै, जनकपुरबाट अन्तरराष्ट्रिय उडानका लागि उपयुक्त हवाई मार्ग उपलब्ध भएमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न सकिने अपेक्षा गरिएको छ। तर प्रवेश बिन्दु, उडानको उचाइ र सञ्चालन प्रक्रियाबारे प्राविधिक सहमति हुन बाँकी छ।

भैरहवा र पोखरास्थित अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी भए पनि अपेक्षाअनुसार अन्तरराष्ट्रिय उडान विस्तार हुन सकेको छैन। हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तरराष्ट्रिय जहाजले बाराको सिमरा प्रवेश बिन्दु प्रयोग गर्नुपर्ने अवस्था छ। यसले पश्चिमी क्षेत्रका विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्दा मार्ग व्यवस्थापनमा कठिनाइ हुने गरेको सम्बद्ध पक्षको भनाइ छ।

थप हवाई रुट उपलब्ध भएमा अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलमा उडान सञ्चालन गर्न सहज हुने र त्यसबाट पर्यटन, व्यापार तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डेढ दशकदेखिको प्रयास

नेपालले नयाँ हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग लामो समयदेखि पहल गर्दै आएको छ। विसं २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पश्चिमतर्फबाट थप हवाई रुट उपलब्ध गराउने विषयमा सहमति भएको थियो। त्यसबेला दुवै देशका अधिकारीलाई छ महिनाभित्र यस विषयलाई टुङ्ग्याउन भनिएको थियो। तर त्यसयता विभिन्न उच्चस्तरीय भ्रमण र द्विपक्षीय बैठकमा छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन।

विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा पनि हवाई रुटको विषय प्रमुख एजेन्डामा परेको थियो। त्यसबेला भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई थप हवाई रुट उपलब्ध गराउने विषयमा भारत सकारात्मक रहेको बताउनुभएको थियो।

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै हवाई रुटमा सहमति खोज्ने उद्देश्यले नेपालले कूटनीतिक तथा प्राविधिक तहमा छलफल तीव्र पारेको थियो। यसैक्रममा पर्यटनमन्त्री खडकराज पौडेल यस विषयमा छलफल गर्न भारत पुग्नुभएको थियो।

नयाँदिल्लीमा मङ्सिर ४ देखि ६ गतेसम्म आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससीओ) को ‘सिभिलाइजेशन डाइलग फोरम’मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारतीय अधिकारी तथा सरोकारवालासँग थप हवाई रुट र पर्यटन सहकार्य विस्तारबारे छलफल गर्नुभएको थियो।

यसअघि नेपाली प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भारतीय नागरिक उड्डयन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग पनि छलफल गरेको थियो। उक्त प्रतिनिधिमण्डलमा पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोल सहभागी हुनुहुन्थ्यो।

लामो समयदेखि छलफलमा रहे पनि कार्यान्वयन हुन नसकेको नयाँ हवाई प्रवेशमार्गको विषयमा यसपटक प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सहमति जुट्ने अपेक्षा गरिएको छ।