दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न धनकुटाका किसानको माग
वि.सं.२०८३ मंसिर ६ आइतवार १८:५०
shares

धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न माग गरेका छन्। हाल किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्रै पाउँदै आएका छन्।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ धनकुटाले उत्पादन लागत बढेको तर दूधको मूल्य नबढेको भन्दै मूल्य समायोजन गर्न सरकारसँग माग गरेको हो।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नारद कटुवालले दाना, चोकर, पशु आहार र औषधोपचारको खर्च बढ्दा दूध उत्पादन लागत प्रतिलिटर करिब ६५ रुपैयाँ पुगेको जानकारी दिए। विगत तीन–चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको उनको भनाइ छ।
महालक्ष्मी नगरपालिका–२ की कृषक कृष्णमाया कटुवालले किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँमा दूध बिक्री गर्नुपरे पनि उपभोक्ताले बजारमा १२० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको बताइन्। मूल्य नबढ्दा पशुपालनको खर्च धान्न कठिन भएको उनको भनाइ छ।
सङ्घका अनुसार धनकुटामा करिब ४० हजार किसान दुग्ध उत्पादनमा आबद्ध छन्। जिल्लामा दैनिक करिब ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। त्यसमध्ये दुग्ध विकास संस्थानले दैनिक करिब १० हजार लिटर खरिद गर्दै आएको छ।
यसैबीच, किसानले दुग्ध विकास संस्थानबाट भदौ १५ गतेदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। संस्थानबाट करिब डेढ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको सङ्घले जनाएको छ।
सङ्घले मङ्सिर १५ गतेसम्म दूधको मूल्य वृद्धि नभए मङ्सिर १६ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ। माग सम्बोधन नभए गाईवस्तुसहित सडकमा उत्रिएर चक्काजाम गर्ने र दूध बजारमा नपठाउने अध्यक्ष कटुवालले बताए।
किसानले उत्पादन लागतका आधारमा दूधको मूल्य निर्धारण गरी दुग्ध उत्पादकलाई राहत दिन सरकारसँग माग गरेका छन्।

























