‘कारागारलाई किताब’ अभियानको बृहत भेला
वि.सं.२०७५ पुस २३ सोमवार ०१:०१
shares

केही महीनायता कर्णाली प्रदेशमा सञ्चालन हुँदै आएको कारागारलाई किताब अभियानको बृहत भेला आइतबार सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतमा भएको भेलामा अभियानलाई कसरी शसक्त बनाउँदै लैजाने भन्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा आवाज संस्थामा कार्यरत चेतन गीरीले अभियान नविनतम र प्रशंसनीय भएकाले आफ्नो मन छोएको बताए । ‘संस्थागत तथा व्यक्तिगत तर्फबाट कारागारका बन्दिहरुलाई जीवन उपयोगी किताब उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछु,’ गिरीले भने, ‘अभियान नेपालभर चल्नु पर्दछ ।’
– ‘कारागारलाई किताब अभियान’ले कैदीहरूमा आत्मविश्वास बढाउँछ : डिआइजी शाह
कारागारका बन्दिहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न यो अभियान सफल समेत हुने उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा किडाकमा कार्यरत बिन्दूलाल रेग्मीले अभियान नेपालका कुनै पनि जिल्लामा नचलेको र कर्णालीबाट यो अभियान चल्नुले प्रदेशको गरिमा बढ्ने बताए । कार्यक्रममा सहभागी अधिकांशले जानी वा नजानी अपराध गरेकाहरुलाई समाजमा स्थापित हुन कारागारलाई किताब अभियानले हौसला प्रदान गर्ने बताए ।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा कारागारलाई किताब अभियानका संयोजक डिआईजी महेशबिक्रम शाहले कारागारका बन्दीहरु पेशागत अपराधी नभई भुलचुकमा गरेको गल्तीबाट सजाय पाएकाहरु भएको र उनीहरु पनि समाजको नागरिक भएकोले सबैले सहयोग गर्नुपर्ने बताए ।
‘हामीले यो अभियान सञ्चालन गर्नुको धेरै उद्देश्य छन्,’ शाहले भने, ‘कारागारका बन्दीलाई दिन बिताउँन र उनीहरुलाई समाजमा स्थापित हुन हौसला प्रदान गर्न अभियान सञ्चालन गरेका हौं ।’
‘कारागारका बन्दीहरु पनि हामीजस्तै नागरिक हुन् । उनीहरुलाई पनि आत्मासम्मान तरिकाले बाँच्न पाउँने अधिकार छ,’ डिआईजी शाहले भने, ‘उनीहरुलाई हामीले सम्मान र सहयोग नगरे कस्ले गर्छ ? गल्ती जानी वा नजानी गरे त्यसको सजाय कारागारमा भोगेका छन् । तर उनीहरु भोली समाजमा स्थापित हुनको लागी हामीहरुले सहयोग गर्नु पर्दछ ।’
यो अभियान पुस महिना भित्रमा कर्णाली प्रदेशका १० वटै जिल्लाहरुमा उपसमिति गठन गरी सञ्चालन गरिने डिआईजी शाहले जानकारी दिए । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख, विभिन्न गैरसररकारी तथा सरकारी निकायका प्रतिनिधिहरुको सहभागीता थियो ।

























