निर्माण व्यवसायी भन्छन्- सार्वजनिक खरिदमा हुने अनियमितता रोक्न बलियो संयन्त्र चाहियो
वि.सं.२०७५ माघ १ मंगलवार ०२:१५
shares

प्रदेश-५ का निर्माण व्यवसायीले सार्वजनिक खरिदमा हुन सक्ने अनियमितता रोकिनु पर्नेमा जोड दिएका छन् । निर्माण व्यवसायीले खरिद प्रक्रियाको अनुगमन, निगरानी तथा निर्माण व्यवसायीलाई जवाफदेही बनाउन प्रदेशस्तरमा छुट्टै शक्तिशाली संयन्त्र गठन गर्न माग गरेका हुन् ।
सोमबार मुख्यमन्त्री शंकर पोखरेलालाई भेटेर निर्माण व्यवसायीले उनीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित र समयसापेक्षा सुधार गर्नुपर्नेमा उनीहरूको जोड थियो ।
निर्माण व्यवसायी महासंघमा आवद्ध प्रदेशका निर्माण व्यवसायीहरुले निर्माण सम्बन्धी प्रचलित ऐनहरु विकासमैत्री नभएको दावी गरे । उनीहरूले विकास निर्माणसँग सम्बन्धित कानुनहरू तत्कालै बनाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्रीसमक्ष विभिन्न ३८ बुँदामा समेटिएका आफ्ना मागरहरू बुझाएका निर्माण व्यवसायीले आफूहरू विकास निर्माणको काममा दत्तचित्त भएर लाग्न तयार रहेको उल्लेख छ । प्रदेशमा दुई हजार आठ सय निर्माण व्यवसायीहरु छन् ।
सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४, निर्माण व्यवासय ऐन २०५५, नियमावली २०५६ साथै कम्पनी ऐन २०६३ जस्ता कानुनहरु तत्काल संशोधन गर्न जरुरी रहेको महासंघका प्रदेश अध्यक्ष वलिभद्र रानाले बताए । रानाले यो हुन नसके विकास निर्माणका कामहरु प्रभावकारी र टिकाउ हुन नसक्ने दावी गरे ।
ऐन नियम र नियमावलीका छिद्रहरुका कारण अनियमितता बढ्दै गएको बताए । उनले विकामैत्री कानुन नभएसम्म राष्ट्रिय लक्ष्य हासिल हुन नसकेको दावी गरे ।

























