भोकले भाग्छन् विद्यार्थी
वि.सं.२०७५ माघ २ बुधवार १८:४१
shares

भारतपुर महानगरपलिकाबाट १६ किलोमिटर दुरी पार गरेपछि देवीटार पुगिन्छ । यो दुरी धेरै लामो होइन । सोही स्थानमा छ देवीटार आधारभूत विद्यालय । कालिका नगरपालिका-४ मा यो विद्यालय अवस्थित छ ।
वि.सं. २०४१ सालमा निर्माण गरिएको जीर्ण भवन र सोही भवनमा अध्ययन गर्ने एक सय ६९ जना विद्यार्थी । यही हो देवीटार आधारभूत विद्यालयको चिनारी ।
ति विद्यार्थीमध्ये करिब ८२ प्रतिशत चेपाङ समुदायका छन् ।
यही पुस २७ गते उक्त विद्यालय पुग्दा अध्ययनका लागि ६० जना विद्यार्थीहरु आएका थिए । जसमध्ये अधिकांश चेपाङ समुदायका थिए ।
रोचक कुरा के छ भने उक्त विद्यालयमा दिउँसो १ बजेपछि आधा भन्दा बढी विद्यार्थी रहँदैनन् । विद्यालयबाट आधा समयमै विद्यार्थीहरू कुलेलम ठोक्नुका पछाडिको कारण हो- भोक ।

विद्यालयमा आउने अधिकांश विद्यार्थी चेपाङ समुदायका छन् । उनीहरुले खाने भनेको जंगली कन्दमुल हो ।
विहान करिब ४५ मिनेटको पैदल दुरी पार गरेर ति विद्यार्थीहरू विद्यालय पुग्छन् । विद्यालय आएपछि उनीहरुको भोक करिब १ बजे सम्म मात्र टर्छ । त्यसपछि उनीहरूलाई भोकले च्याप्न थाल्छ । जब विद्यार्थीलाई भोकले च्याप्न थाल्छ तब विद्यालय रित्तिँदै जान्छ ।
अध्ययनका लागि विद्यालय आएका चेपाङ विद्यार्थीहरूलाई भोकले च्याप्न थालेपछि विद्यालय सुनशान हुँदै जान्छ । दिउँसोको १ बजे पछि त विद्यार्थीहरू भोककै कारण विद्यालय ‘बंक’ गरेर कुलेलम ठोक्छन् ।
विद्यार्थीको भोकसँग विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद रिजाल पनि आजित छन् । उनका अनुसार नगरपालिकाभित्र विद्यालय खाजा कार्यक्रम लागू गरिएको छ । तर, पर्याप्त मात्रमा खाजा नहुँदा विद्यार्थीहरू बाँडीचुँडी खाने गर्छन् ।
नगरपालिबाट खाजा कार्यक्रमा लागू गरिए पनि विगत ४ महिनादेखि विद्यालयमा पैसा आएको छैन । अर्कातर्फ जीर्ण भौतिक संरचना पनि विद्यालयको अर्को टाउको दुखाई बनेको छ । खाजा कार्यक्रमको पैसा नआएकाले विद्यालयले नियमित खाजा खुवाउन सकेको छैन ।
‘४ महिना भयो पैसा आएको छैन,’ प्र.अ. रिजाल भन्छन्, ‘जेनतेन चलाएका छौं ।’
विद्यालयमा आउने अधिकांश विद्यार्थी विपन्न समुदायका छन् । उनीहरु जाडोमा लागाउने पोसाक समेत नभएका कारण एकसारो लुगा लगाएर आउने गरेका विद्यालयले जनाएको छ ।
कसैको सहयोग भए विद्यार्थीहरुको लागि राम्रो हुने रिजाल बताउछन् । ‘कोही कतैबाट सहयोग आउँछ भने लौन सर ल्याईदिन पर्यो, विद्यार्थीको भविष्यसँग जोडिएको सबाल छ,’ रिजालले न्युज कारोबारसँग भने ।
१ सय ६९ जना अध्ययनरत रहेको विद्यालयको तथ्यांक छ । तर बहुसंख्य विद्यार्थीहरु जाडो, विकटता र भोककै कारण विद्यालय आउँदैनन् ।
तत्कालीन नेकपा (माओवादी) शान्ती प्रक्रियामा आएपछि माओवादी सेना राखिएको स्थान चितवनको शक्तिखोरदेखि केही किलोमिटरको दुरीमा उक्त विद्यालय छ ।

वि.सं. २०४१ सालमा निर्माण गरिएको विद्यालय भवन जीर्ण भइसकेको छ । यसका अलवा वि.सं. २०५३ साल र २०६४ सालमा एक एक एक कोठा निर्माण भए पनि भौतिक संरचना जीर्ण नै छ ।
सिमेन्टको पर्खाल लगाइएको विद्यालय जस्ताले छाएको छ । जाडोको समयमा जस्ताको छानोबाट शीत चुहिने विद्यार्थीहरू बताउँछन् । ‘पंखा छैन गर्मीमा उधुम गर्मी हुन्छ,’ विद्यार्थी मनसिंह चेपाङ भन्छन्, ‘जाडो भरी शीत चुहिएर खप्नै हुन्न ।’
विद्यलयमा शिक्षक तथा सहयोगीसहित ८ जना कर्मचारी छन् । त्यसमध्ये ४ जना दरबन्दीका हुन् भने २ जना कार्यलय सहयोग र २ जना राहत कोटाका शिक्षक छन् ।
विद्यालय आसपास मगर समुदायको बस्ती छ । उनीहरुले बाख्रा, बंगुर, कुखुरा पालेका छन् । त्यस्तै खेतीपाती पनि गर्दै आएका छन् ।
विद्यालयबाट ४५ मिनेटको दुरीमा अजिंगरे पुगिन्छ, जहाका चेपाङ विद्यार्थीहरू उक्त विद्यालयमा आउँछन् ।
भोकका कारण विद्यार्थीहरूले विद्यालय बंक गर्न थालेपछि नगरपालिकाले पनि त्यसमा चासो दिएको छ । तर, व्यवस्थापन चुस्त नहुँदा समस्या समाधान भएको छैन ।
कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ प्रसाद पुरी खाजा अभवाको कारण विद्यार्थीहरुले विद्यालय छोड्ने प्रवृत्ती निरूत्साहित गर्न नगरपालिका प्रयासरत रहेको बताउँछन् । त्यसैलाई मध्यनजर गरी खाजा कार्यक्रम लागू गरिएको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत पुरीका अनुसार खाजा कार्यक्रम पर्याप्त मात्रमा नभए पनि यसले केही हदसम्म समस्या समाधान गरेको छ । खाजा कार्यक्रमको रकम रोक्का नभएको बताउँदै उनले प्राविधिक कारणले ढिलाइ भएको जानकारी दिए ।

























