काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक्जियटाको ‘एक्जिट’ प्रयास : कर विवाद कायमै, एनसेल बिक्रीमा

14.11K
shares

कर विवाद नटुङ्गिँदै निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेल बिक्री हुन लागेको छ । एनसेलका ८० प्रतिशत सेयरहोल्डर एक्जियटा र २० प्रतिशतका स्थानीय साझेदार सतिशलाल आचार्यले दुबई पुगेर एनसेल बिक्रीको प्रक्रिया अगाडि बढाएका हुन् । उनीहरूले सो कम्पनी तीन खर्ब ४० अर्ब रुपैयाँमा साउदी अरबमा मुख्य कार्यालय रहेको अब्दुल वाहव एल गल्दारी ग्रुप (एडब्लूजीएएल) लाई बेच्न लागेका हुन् ।

एनसेल बिक्रीका लागि एडब्लूजीएएललाई एक्जियटा र सुनिभेराले गत ०७५ जेठ १९ गते लेटर अफ इन्टेन्ट (एलओआई) जारी गरेका थिए । त्यसपछि ८ असारमा एलओआईमा अफिस अफ अव्दुलवाहब गलदारीका अध्यक्ष अव्दुलवाहब इलायज अव्दुलवाहब एल गलदारी, एक्जियटाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तानश्री जमालउद्दिन इब्राहिम र सुनिभेराका तर्फबाट सतिशलाल आचार्यले हस्ताक्षर गरेका थिए । त्यसयता एनसेलको कर विवादबारे आएका समाचारलाई लिएर एडब्लूजीएएल हच्किएको थियो । तर, ८० प्रतिशतको हिस्सेदार एक्जियटा र २० प्रतिशतको स्थानीय साझेदार सुनिभेराले दुबई पुगेर एडब्लूजीएएललाई ‘कन्भिन्स’ गरेको स्रोतको दाबी छ । उनीहरुले नेपालमा उब्जिएको करसम्बन्धी विवाद मिलाइसकेको भन्दै एडब्लूजीएएललाई विश्वस्त बनाएका छन् । यद्यपि, एडब्लूजीएएल मुलुकको कानुनी व्यवस्था, कम्पनीको वित्तीय, प्राविधिक, व्यापार, तथा कर्मचारीबारे विवरण माग गरेको बताइएको छ ।

विवाद छँदै बाहिरिने प्रयास
नर्वेको टेलियासोनेराले आफ्नो स्वामित्वको एनसेल सेयर मलेसियाको एक्जियटालाई बेचेर हिँडे पनि यसबाट कमाएको नाफामा टेलियासोनेराले पुँजीगत लाभकर नतिर्दा विवाद जारी छ । विवादका बाबजुद यो कम्पनी बेचेर अहिलेका लगानीकर्ता पनि बाहिरिन खोजेका हुन् । यसअघिको लगानीकर्ता टेलियासोनेराबाट एक्जियटामा सेयर हस्तान्तरण हुँदाको विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

६० अर्ब ७१ करोडको कर एसेसमेन्ट
सुरुमा लाभकर तिर्नु भुक्तानी आफ्नो दायित्व नभएको दाबी गरेको कम्पनीले दुईपटक गरेर १३ अर्ब ६० करोड रुपैंयाँ पुँजीगत लाभकर सरकारलाई बुझायो । ठूलाकरदाता कार्यालयले भने लाभकरमा लाग्ने २५ प्रतिशतमध्ये एनसेलमार्फत १५ प्रतिशत अग्रिम कर आएको भन्दै टेलियालाई १६ असार ०७४ सालमा ६० अर्ब ७१ करोडको कर एसेसमेन्ट गरेको थियो । यसबारे विवाद उब्जिएपछि मुद्दा सर्वोच्चसम्म पुगेको छ । अहिले एनसेल तोकेकै मूल्यमा बिक्री भए सो कम्पनीलाई डेढ खर्ब रुपैयाँभन्दा बढी मुनाफा हुने देखिन्छ । यो बीचमा सो कम्पनीले सर्वोच्चकै आदेशबाट ३६ अर्ब रूपैयाँ लाभांश पनि विदेश लगिसकेको छ ।

सन् २०१५ डिसेम्बर २१ मा एक्जियटाले एनसेलमा भएको टेलियाको ८० प्रतिशत सेयर एक अर्ब ३६ करोड ५० लाख डलरमा खरिद गर्ने घोषणा गरेको थियो । त्यसैगरी, निरजगोविन्द श्रेष्ठको स्वामित्वमा भए पनि टेलियाकै ‘इकोनोमिक इन्ट्रेस्ट’ भएको एनसेलको २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिले चार करोड ८० लाख डलरमा किनेको थियो । यो रकमको भुक्तानीका लागि एक्जियटाले आफ्नै स्वामित्वमा रहेको कम्बोडियन कम्पनी स्मार्ट टेलिकममार्फत आचार्यलाई ‘फाइनान्सिङ’ गरेको थियो । सुनिभेरा क्यापिटल गैरआवासीय नेपाली आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको कम्पनी हो ।

खरिद–बिक्री र कर छली प्रकरण
स्विडेनमा मुख्य कार्यालय रहेको टेलिया कम्पनी र नेदरल्यान्ड्सको एसईए टेलिकमसँग रहेको एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले १ अर्ब ३६ करोड ५१ लाख डलर (१ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी)मा किनेको थियो । नेपालका लागि एनसेल खरिद–बिक्री हालसम्मकै ठूलो व्यावसायिक कारोबार हो । एनसेलमा रिनोल्ड होल्डिङमार्फत स्विडिस कम्पनी टेलियासोनेराको ६०.४ प्रतिशत र काजकस्तानको कम्पनी भाइजरको १९.६ प्रतिशत सेयर स्वामित्व छ । एनसेल कम्पनी बेचेको टेलियाले एनसेलमा कम्पनीको सेयर विक्री गर्दा नेपालमा कर तिर्नु नपर्ने जिकिर गर्दै आएको थियो । तर, सरकारकै उच्च अधिकारीदेखि कर कार्यालयसम्मका अधिकारीहरु पनि कर उन्मुक्ति दिन सकारात्मक देखिएको कुरा सार्वजनिक भएपछि चौतर्फी आलोचना भयो । कर कार्यालयले पनि एनसेललाई कर उन्मुक्ति नदिने निर्णय गर्यो । यही कारण एक्जियटा आफैं कर तिर्न बाध्य भयो । तर, ठूलाकरदाता कार्यालयको एसेसमेन्टअनुसार लाभकरमा लाग्ने बाँकी रकम एनसेलले तिर्न बाँकी नै छ ।

विवादको जड के हो ?
टेलिया विदेशमा रहेको (अफसोर) कम्पनी हो । उसले विदेशमै रहेको आफ्नो शतप्रतिशत स्वामित्वको रेनल्ड होल्डिङ्समार्फत् एनसेलमा ६० प्रतिशत लगानी गरेको थियो । त्यही रेनल्ड होल्डिङ्समा रहेको टेलियाको सेयर एक्जियटाले खरिद गरेको हो । एनसेलको मालिक हिजो पनि रेनल्ड होल्डिङ्स नै थियो, आज पनि उही छ । खाली रेनल्डको अंशियार परिवर्तन भएको छ । यसरी कानुनी रूपमा नेपालभित्र छिर्दै नछिरी विदेशमै हुने सेयर किनबेचबापत् यहाँ पुँजीगत लाभकर तिर्नुपर्छ कि पर्दैन ? मुख्य विवादको जड नै यही हो । यो विवाद नमिल्दै एनसेल बिक्री भएमा करसम्बन्धी मुद्दा थप कमजोर हुने विज्ञहरु बताउँछन् ।