सर्वोत्कृष्ट भलिबल टिमलाई जनता बैंकको २ लाख पुरस्कार
वि.सं.२०७५ माघ ४ शुक्रवार ०३:०२
shares

जनता बैंक नेपालले सर्वोत्कृष्ट भलिबल टिमलाई २ लाख पुरस्कार प्रदान गर्ने भएको छ । जनता बैंक र नेपाल भलिबल संघबीच बिहीबार सो सम्बन्धी सम्झौता भएको हो ।
पुरस्कार प्रायोजनसम्बन्धी सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल भलिबल संघले एनभिए अवार्ड सेरेमोनीमा प्रदान गर्ने वर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाका लागि नगद २ लाख (प्रतिटिम रु. १ लाख) जनता बैंकले प्रदान गर्नेछ । जनता बैंकले सर्वोत्कृष्ट दुवै टिमलाई पाँच वर्षका लागि यो सम्झौता गरेको हो ।
पुुस १३ गते नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा वर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरी २ लाख रुपैयाँको पुरस्कार पनि जनता बैंकले प्रदान गरेको थियो । उक्त पुरस्कार पनि आगामी ५ वर्षका लागि प्रदान गरिने गरी सम्झौता भएको छ । जनता बैंकको खेलप्रतिको यस सहयोगले खेलाडीमा हौसला प्रदान भई खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास लिएका जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल भलिबल संघले भलिबल खेलको विकास र विस्तारमा निरन्तर खट्ने संघ–संस्था, व्यक्तित्वलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम र खेलाडीको मनोबल बढाउने उद्देश्यले २०७४ सालदेखि एनभिए अवार्ड प्रदान गर्दै आइरहेको छ । कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी जनता बैंकले खेलाडीलाई प्रदान गरिने विभिन्न पुरस्कारमा प्रायोजन गर्दै आइरहेको छ ।

























