आइएमई ग्रुपमा ‘ट्याक्स हेभेन’को लगानी छैन : चन्द्र ढकाल
वि.सं.२०७५ माघ ४ शुक्रवार ०२:४७
shares

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो समूहसँग सम्बद्ध कुनै पनि कम्पनी ‘ट्याक्स हेभेन’ मुलुकमा दर्ता नभएको र आफ्नो समूहले प्रवर्धन गरेको कुनै पनि कम्पनीमा ट्याक्स हेभेन मुलुकबाट लगानी नभित्रिएको स्पष्ट पारेका छन् । सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिज्म (सिआईजे) नेपालमार्फत तयार गरिएको नेपालिक्समा आफ्नो नाम पनि समावेश भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष ढकालले बेलायतलगायतका देशमा रेमिट्यान्स कम्पनी स्थापना गर्नका लागि नेपालबाट लगानीबाहिर नलगेको र उताबाट पनि लगानी नभित्र्याइएको स्पष्ट पारेका हुन् ।
यद्यपि, उनले बेलायतमा कानुनी प्रक्रिया पूरा गरेर खोलिएको कम्पनी ‘वन पाउन्ड कम्पनी’ भएको भने स्वीकार गरेका छन् । ‘बेलायतकै सन्दर्भमा यो वन पाउन्डको कम्पनी हो । हामीले त्यहीँ उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं, ढकालले भने ।
‘आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट लिमिटेडलाई इन्टरनेसल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको हो,’ ढकालद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘कम्पनी सुरुवात गरेपछि म त्यो कम्पनीको सञ्चालक बनेको हुँ र २० जुलाई २०१० मा मैले त्यो कम्पनीबाट राजीनामा दिएको हुँ ।’
उनले आफ्नो भाइ हेमराज ढकाल गैरआवासीय नेपाली भएको उल्लेख गर्दै बेलायती कम्पनीका साझेदारहरु कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भए पनि उनीहरूकोे अहिलेको राष्ट्रियता बेलायती भएको प्रस्ट पारेका छन् । ‘उहाँहरुले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ति जनाउनुपर्ने र गैरकानुनी हुनु नपर्ने हो,’ ढकालद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘मेरो भाइ हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासीय नेपाली हुन् । उनले सन् ९० को दशकदेखि जापान, मलेसिया, बेलायतलगायतका देशमा बसेर आइएमई रेमिट्यान्सको बिजनेस हेर्दै आएका छन् ।’
‘विदेशमा रेमिट्यान्स सेवा विस्तार गर्नका लागि नेपालबाट मात्र गरेर सम्भव नहुने हुँदा भाइ हेमराजले गैरआवासीय नेपालीको हैसियतमा नेपालीहरु भएका देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने रेमिट्यान्समा टेवा पुर्याउँदै आएका छन् । नेपालको कानुनले गैरआवासीय नेपालीलाई कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज लगाएको छैन,’ ढकालको भनाइ छ ।
नेपालमा निजी कम्पनीस्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा आफूहरूले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट रेमिट्यान्स भित्र्याउने क्रम सुरु गरेको उनले उल्लेख गरेका छन् । नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई)ले नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर बैंकिङ च्यानलबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पहिलो कम्पनीको रुपमा काम थालेको अध्यक्ष ढकालको भनाइ छ ।
त्यसलगत्तै बेलायतलगायत अन्य देशबाट पनि कारोबार गर्नका लागि १७ जुन २००२ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको ढकालले बताए । ‘त्यसपछि नेपालीहरुको बाहुल्य रहेका देशमा हामीले विभिन्न व्यक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको हौं,’ ढकालले भनेका छन् ।
‘यी कम्पनी स्थापना गर्न नेपालबाट लगानी बाहिर लगेको पनि होइन,’ प्रेस नोटमा भनिएको छ, ‘अवैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवतः कसैले नजरअन्दाज गर्न मिल्दैन ।’
नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आइएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिब १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको दाबी गरिएको छ । ‘यसरी हामीले संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण अहिले हाम्रो अर्थतन्त्र अगाडि बढिरहेको छ भने कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगेको छ । कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको छ । आज रेमिट्यान्स सेवासँगै हाम्रो समूह बैंक, इन्स्योरेन्स, जलविद्युत, होटल, चन्द्रागिरि केबलकार र डिस होम सेवासम्म विस्तार भएको छ,’ ढकालले भनेका छन् ।
खोज पत्रकारितामा विख्यात आईसिआईजे जस्तो संस्थाको साझेदारीमा सिआईजे जस्तो संस्थाले एक वर्ष लगाएर गरेको खोजमा यस्तो गम्भीर त्रुटि हुनु नपर्ने विश्वास आइएमई ग्रुपका अध्यक्ष ढकालको छ ।

























