एनआईसी एशियाद्वारा ४ अर्बको ऋणपत्र जारी, ब्याजदर १० प्रतिशत
वि.सं.२०७५ माघ ४ शुक्रवार ०३:३०
shares

एनआईसी एशिया बैंकले ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गरेको छ । ‘एनआई सी एशिया डिबेन्चर २०८५/८६’ नाम दिइएको ऋणपत्रका लागि १० प्रतिशत वार्षिक ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।
प्रतिकित्ता एक हजारका दरले ४० लाख कित्ता रहेको ४ अर्ब रुपैयाँबराबरको उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने बैंकले जनाएको छ । ऋणपत्रको निष्कासन रकम ४ अर्ब रुपैयाँको ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट निष्कासन गरिएको छ भने ४ अर्बको ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड सर्वसाधारण लगानीकर्ताका लागि सार्वजनिक निष्कासन विधिमार्फत निष्कासन गरिनेछ । ऋणपत्रको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । ऋणपत्रको माघ १३ देखि सर्वसाधारणका लागि बिक्री खुला भई छिटोमा माघ १६ गते र ढिलोमा फागुन १३ गतेसम्म बिक्री खुला रहनेछ ।
उक्त ऋणपत्रलाई केयर रेटिङ्स नेपालबाट लो क्रेडिट रिस्क जनाउने केयर–एनपी ‘ए’ ग्रेडिङ तथा इक्रा नेपालबाट इक्रा एनपी– आईआर ‘ए’ माइनस र केयर रेटिङ्स नेपालबाट केयर–एनपी ए (आईएस) ग्रेडिङ प्रदान गरिएको छ । उक्त क्रेडिट रेटिङ प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।
नेपाल स्टक एक्सचेन्जमामा सूचीकरण हुने उक्त ऋणपत्र नेपालको कर्जा बजारको विकासका लागि एक महत्वपूर्ण कडी हुने बैंकको विश्वास छ । हाल नेपालमा दीर्घकालीन लगानीका लागि वित्तीय साधनहरु अत्यन्त कममात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्च प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने तथा सुरक्षित लगानी हुने भएकाले लाभ उठाउन बैंकले अनुरोध गरेको छ । एनआईसी एशियाका देशभर २७३ शाखा, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ इकाइ छन् ।

























