हुम्लाको सिमकोट बजारमा सडक विस्तार गरिने
वि.सं.२०७५ माघ ६ आइतवार १३:०७
shares

हुम्लाको सदरमुकाम सिमकोट बजारलाई सहरी विकास मन्त्रालय आयोजनाले सडक विस्तार गर्ने भएको छ । शनिबार सिमकोट गाउँपालिका जनप्रतिनिधि, स्थानीय र संघीय योजना प्रमुख, सहरी विकास मन्त्रालयका पदाधिकारीबीच भएको अन्तरक्रिया कार्यक्रममा विगतका योजनाभन्दा फरक तरिकाले कार्य अगाडि बढाउने निर्णय भएको छ ।
सिमकोट गाउँपालिकाले सडक विस्तारको लागि आफूहरुलाई प्रतिवेदन पेश चाँडो पेस गरेमा लामो समयसम्म टिकाउ हुने गरी कार्यक्रम सञ्चालन गरिने सहरी विकास मन्त्रालयका पदमकुमार मैनालीले बताउनुभयो । सिमकोट बजारमा सडक विस्तार गर्दा के–कस्ता पहल गर्न सकिन्छ र सडक विस्तारमा लाग्ने खर्चलगायतका विषयमा छलफल भएको उनले बताए ।
सिमकोट गाउँपालिकाले विस्तार गर्दै आएका सडकको कामलाई प्राथमिकता दिनुका साथै सिमकोट गाउँपालिकाअन्तर्गत आठै वडालाई सडक विस्तारमा पहिलो प्राथामिकता दिने गाउँपालिका उपाध्यक्ष वली रावतले बताए । उपाध्यक्ष रावतका अनुसार अबका योजना परिणममुखी हुने र जनताले गुनासो गर्न पाउने मौका नहुने प्रतिबद्धता व्यक्त गरे ।
बाक्लो बस्ती भएको ठाउँमा सडक निर्माण गर्दै जाने, सिमकोटवासीमा परिवर्तन आउने गरी काम गर्नुको साथै सडक विस्तारमा लाग्ने खर्च सबै सहरी विकास मन्त्रालयले व्यहोर्ने कार्यक्रम रहेको सोही मन्त्रालयका कृष्णप्रसाद दबाडीले बताए ।
सहरी विकास मन्त्रालयले जिल्लाका सात गाउँपालिकामध्ये सिमकोट गाउँपालिकालाई सडक विस्तारका लागि पहिलो प्रथामिकतामा राखिएको छ । सहरी विकास मन्त्रालयले सडक निर्माण, ढल निर्माण गर्न लागेको योजनालाई सही सदुपयोग गर्नुका साथै नमूना गाउँपालिका बनाउने सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानाकारी दिए । साथै, शनिबार भएको कार्यक्रममा सिमकोट बजार दुर्गन्धित बन्दै गएको भन्ने प्रश्नमा अधिकृत दर्जीले दुई करोड ४० लाख खर्च भएको हुँदा त्यसअनुसार काम नभएको स्वीकार गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता डबल रावलले सिमकोट गाउँपालिकाले लामो समय लगाएर विकासको अवधारणाका साथै बजेट नदोहोरिने गरी खर्च गर्नुपर्नेमा जोड दिए । हुम्लामा जेठ/असारमा मात्र विकासका बजेट निकास हुने भएकाले यसलाई दुरुपयोग गरेर अचार बनाउन नहुने नेता रावलको भनाइ थियो ।
अन्तरर्क्रियामा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सिमकोट गाउँपालिका–४ का अध्यक्ष छविचन्द्र लामा, वडा नम्बर ३ का अध्यक्ष ताक्ला जिम्केत मुस्कान लामा, जिल्ला समन्वय समितिका निमित्त देवी ऐडी, नेपाली कांग्रेसका कैलाश भण्डारीलगायत संघीय आयोजना, सहरी विकास मन्त्रालयको टोलीका साथै निर्माण व्यवसायीको सहभागिता थियो । (रासस)

























