केसीको असनसन १६ औं पटकको १६ औं दिन
वि.सं.२०७५ माघ ११ शुक्रवार ००:४२
shares

सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन गर्नुपर्ने माग राख्दै अनसन बसेका डा. गोविन्द केसीको १६ औं पटकको अनसन १६ औं दिन पुगेको छ । १६ औं पटकको अनसनसम्म आइपुग्दा डा. केसीको मागलाई लिएर समाज ध्रुविकृत हुँदैछ भने विस्तारै उनको अनसन पनि विवादित बन्दै गएको छ ।
अधिकार कर्मीहरुले भने केसीको अनसनसँगै शसक्त आन्दोलन गर्नुपर्ने सुझाव दिन थालेका छन् । केसीको अनसनलाई सरकारले विभिन्न आरोप र लान्छना लगाउन थालेको उनीहरूको आरोप छ । केसीको अनसनको अबको बाटो र पाटो के हुने भन्ने विषयमा बिहीबार उनका अनुयायीहरुले छलफल गरेका थिए ।
केसीको १६ औं अनसन १६ औं दिन पुगिसक्दा पनि सरकारले वार्ता र छलफलको वातावरण नबनाएको भन्दै उनीहरूले अनसन सँगै आन्दोलनलाई पनि शसक्त पार्नुपर्ने सुझाव दिए । सरकार बहुमतको आडमा माफियामुखी भएको भन्दै आन्दोलनलाई शसक्त बनाउन र आवश्यक परे सरकारले तोकेको निषेधित क्षेत्र तोड्न पनि आवश्यक रहेको मानव अधिकारवादी कृण पहाडीले बताए ।
केसीका मागलाई सम्बोधन गराउन, संसदमा चुनाव हुँदा क्याम्पेनिङ गर्ने, सामाजिक र नैतिक रुपमा उच्च रहेको व्यक्तिले लिड गर्नुपर्ने र हप्तामा २ पटक बानेश्वरको निषेधित घेरा तोड्ने गरी आन्दोलन गर्न तयार हुनुपर्ने सुझाव पहाडीले दिए ।
अधिकारकर्मीहरु गिरफ्तारी दिन तयार
कार्यक्रमा उपस्थित अधिकारकर्मीहरुले पहाडीको पस्तावलाई स्वीकार गर्दै आन्दोलनमा आफूहरु गिरफ्तारी दिन तयार रहेका बताए ।
केसीको अनसनलाई प्रतिपक्ष कांग्रेसले आफ्नो एजेण्डा बनाएकाले अनसन कांग्रेसले गराएको आरोप नेकपाका नेताहरुले लगाउँदै आएका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दुई तिहाईको सरकार हुँदैमा स्वेच्छाचारी हुनु नहुने जिकिर गरे । ‘सरकार दुई तिहाईको छ, तर त्यो पावर सरकारले माफियाको लागि प्रयोग गरेको छ, यस्तो समयमा मौन बस्नु अपराध हो,’ त्रिपाठीले भने ।
संसदीय समितिले आफूसँग गरेको सहमतिविपरित विधेयक पारित गर्न लागेको भन्दै डा. केसीले सरकार माफिया पोस्ने खेलमा लागेको आरोप लगाए । तर सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु केसीको माग पूरा भएकाले उत्सव मनाउनुपर्ने तर्क गरिरहेका छन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेस भने केसीसँग गरिएका सहमतिअनुसार विधेयक नल्याई उनलाई धोका दिएको जिकिर गर्दै आएको छ । यही विधेयक पेस गर्ने प्रक्रियामा मंगलबार कांग्रेसले संसद अवरोधसमेत गरेको छ ।

























