सरकारले भन्यो- संक्रमणकालीन न्याय आफ्नै प्रचलनअनुसार
वि.सं.२०७५ माघ ११ शुक्रवार ००:२३
shares

सरकारले नेपाली प्रचलन र न्याय निरुपणका मानकका आधारमा संक्रमणकालीन न्यायको उचित समाधान खोज्ने बताएको छ । संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन एवं अमेरिकासहित ८ वटा पश्चिमा मुलुकले संक्रमणकालीन न्याय निरुपणमा चासो देखाएकै दिन सरकारको यस्तो प्रतिकृया आएको हो ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संक्रमणकालीन न्यायको विषय सशस्त्र द्वन्द्वसँग सम्बन्धित रहेको बताए ।
‘यो निकै अप्ठ्यारो, पेचिलो र गम्भीर विषय हो । यो नेपालको शान्ति प्रक्रियाको एउटा हिस्सा हो । यी सबै नेपालभित्र भएका घटनासँग सम्बन्धित छन्,’ मन्त्री बास्कोटाले सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै भने, ‘तिनको व्यवस्थापन यसका पक्षहरूको चाहनामा भएको थियो । राजनीतिक सेटलमेन्ट पहिलै भइसकेको छ । पक्षबाट प्रभावितहरुलाई अब सेटेलमेन्ट गर्नुपर्नेछ । यो नेपालको संविधान, कानुन र विस्तृत शान्ति सम्झौताको मर्म, भावना र हाम्रा आफ्नै प्रचलनहरु र न्याय निरुपणका मानकहरुका आधारमा उचित गरिन्छ ।’
सरकारले सही निर्णय गर्ने उनले बताए । द्वन्द्वकालका मानवअधिकार उल्लंघनका अपराधमा संलग्नहरूलाइ उन्मुक्ति दिनेगरी सरकारले कानुन निर्माण गर्न लागेको अवस्थामा बिहीबार संयुक्त राष्ट्रसंघ, युरोपेली युनियनसहित ८ वटा मुलुकका दूतावासले संयुक्त विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्यायको विषयमा चासो राखेका थिए ।
यस्ता छन् मन्त्रिपरिषदका निर्णय
सरकारले भाषा आयोगको सदस्य पदमा उषा हमाललाई नियुक्त गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै यस विषयमा जानकारी गराइएको हो । हमाललाई सदस्य पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए । हमाल सुर्खेत निवासी हुन् ।
त्यस्तै सरकारले विशेष राहदानी बहाकलाई एकअर्को मुलुकको भ्रमण गर्दा प्रवेशाज्ञामा छुट दिने सम्झौतालाई स्वीकृत गरेको छ ।
त्यसैगरी रक्सौल-अमलेखगञ्ज पाइपलाइन विछ्याउन केही रुखहरु काट्नुपर्ने भएकाले ती रुखहरु हटाउन अनुमति दिएको छ । क्याबिनेटले राजपत्रांकित वा सो सरहका कर्मचारी समायोजन नेपाल सरकारले गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी विदेशी कूटनीतिक नियोगलाई जग्गा उपलब्ध गराउँदा त्यो जग्गाको हदबन्दी लगाएको छ । जसमा राजदूतावासका लागि बढीमा १२ रोपनी, बाणिज्य दूतावासका लागि ८ र महावाणिज्य दूतावासका लागि ३ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

























