सभामुख अर्यालसँग कोरियाका राजदूत पार्कको भेट
वि.सं.२०८३ मंसिर ७ सोमवार १७:३३
shares

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई क्युंगले शिष्टाचार भेट गरेका छन्।
सङ्घीय संसद् सचिवालयमा आज भएको भेटमा सभामुख अर्यालले राजदूत पार्कलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
त्यस अवसरमा उनले नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सुमधुर सम्बन्ध रही आएको उल्लेख गर्दै कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको बताए।
पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, डिजिटलाइजेसन, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले नेपाल वायुसेवा निगमको नेपाल–कोरिया उडान सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न राजदूत समक्ष आग्रह गरे।
नेपालका बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोरियाली सरकारले उपलब्ध गराएको आर्थिक तथा जिन्सी सहयोग तथा कोरियाली विपद् प्रतिकार्य टोली परिचालन गरेकोमा उनले धन्यवाद व्यक्त गरे।
रसुवा बाढीलगायतका विपद्का क्रममा सम्पर्कविहीन कोरियाली नागरिकका परिवारप्रति समवेदना व्यक्त गरे। उनले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत शिक्षा, स्वास्थ्य, कृषि तथा मानव संशाधन विकासमा प्राप्त सहयोगको प्रशंसा गर्दै जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा कोरियाली लगानी विस्तारको सम्भावना औँल्याए।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली युवालाई रोजगारीका अवसर उपलब्ध गराएकोमा धन्यवाद दिँदै दुई देशबीच पर्यटन तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ गर्नुपर्ने बताए।
त्यस अवसरमा राजदूत पार्कले बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा कोरिया निरन्तर सहयोग गर्न तयार रहेको बताए। उनले नेपाल–कोरिया सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो कार्यकालमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

























