मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
वि.सं.२०७५ माघ ११ शुक्रवार १३:२९
shares

मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन् ।
संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६औं राजा बनेका छन् । राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएअनुसार यही जनवरी ३१ तारिखका दिन उनले पद वहाली गर्नेछन् । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौले यही जनवरी ६ मा राजिनामाको घोषणा गरेपछि नयाँ राजा चयन गरिएको हो ।
मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावअधि नसकिँदै राजिनामा दिने उनी पहिलो राजा हुन् । मुहम्मद पाँचौले राजिनामा दिनु पर्नाको कारण अहिले सम्म स्पष्ट पारिएको छैन । तर उनले रुसी पूर्व सुन्दरीसँग विवाह गरेकाले राजिनामा दिएको बताइएको छ ।
राजिनामाको घोषणा गर्नुअघि ४९ वर्षिय १५औं राजा सुल्तानले केही सातादेखि बिदा लिएका थिए । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । ५९ बर्षिय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका हुन् ।
सन् १९५७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन् । तर प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ ।
मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ । बहुसंख्यक मुसलमानहरूले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकतावद्ध राखेको विश्वास गर्छन् ।
अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर राजाको मानहानि हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था रहेको छ ।
मलेसियाका १३ राज्य मध्ये नौ राज्यका सुल्तानमध्येबाट चक्रीय प्रणाली अनुसार पाँच–पाँच वर्षका लागि राजा छान्ने परम्परा रहेको छ ।

























