चिकित्सा शिक्षा विधेयक : सत्ता–प्रतिपक्ष मुठभेडतिर
वि.सं.२०७५ माघ ११ शुक्रवार १४:३१
shares

संसद् सचिवालयले आज प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची बनाएको छ । आजको कार्यसूचीमा विधेयक पारित गर्नेबाहेक अन्य विषय राखिएको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लगातारको अवरोधका कारण सोमबार र मंगलबार विधेयक पारित गर्ने कार्यसूची भए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । सभामुख कृष्णबहादुर महराले आजको बैठकको एजेन्डानै विधेयक पारित गर्ने भएको बताएका छन् ।
सञ्चारकर्मीसँग बिहीबार कुरा गर्दै महराले सरकारले विधेयक छिटो पारित गर्ने भनेकाले संसद्मा रोक्न नमिल्ने बताएका थिए । कांग्रेस नेताहरूलाई भेटेर संसद् अवरोध नगर्न आग्रह गरेको सभामुख महराको भनाइ थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पनि चिकित्सा शिक्षा सुधारका लागि विधेयक पारित गर्नुपर्ने बताएका छन् । वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले तत्काल विधेयक पारित गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा पनि प्रक्रिया अघि बढिसकेकाले विधेयक पारित हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । अनसनरत डाक्टर गोविन्द केसीका सम्पूर्ण माग पूरा भइसकेको भन्दै बास्कोटाले संसद्को क्षेत्रधिकार भित्र प्रवेश गरिसकेको विषय कुनै पनि हालतमा फिर्ता नहुँने बताए ।
आजको बैठकमा प्रतिपक्षी कांग्रेसको विरोध भएपनि शिक्षामन्त्री पोखरेलले रोस्ट्रमबाटै प्रस्ताव पेस गर्ने बताइएको छ ।
यसैबीच, कांग्रेसले भने सत्ता–प्रतिपक्ष विवादकै बीच सभामुख महराले जबर्जस्ती विधेयक पारित गर्न खोजेको आरोप लगाएको छ । कांगेसको बिहीबार सुरु केन्द्रीय समितिको बैठकले डाक्टर केसीका माग पूरा नहुँदासम्म विधेयक पास हुन नदिने निर्णय गरेको छ । अनसनरत डाक्टर गोविन्द केसीसँग भएका पूर्वसहमति पालना नगरी सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्न सत्तापक्ष उद्यत् रहेको पनि कांग्रसको आरोप छ ।
कांग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकार अन्तर्गत राख्नसमेत सरकारसँग माग गरेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक राखिएको र नियुक्तिका निर्णय गरिएकाप्रति आपत्ति जनाएको छ ।

























