गृहपृष्ठ ब्याजमा पैसा लगाउँदै राष्ट्र बैंक
ब्याजमा पैसा लगाउँदै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आफूसँग सञ्चितिमा रहेको मध्ये १ अर्ब ३० करोड रुपैयाँ विभिन्न बैंकहरूमा राख्ने भएको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी बैंक तथा वित्तीय संस्थाहरूलाई बोलकबोलबाट पैसा निक्षेपमा लिन भनेको हो ।
हालसम्म योसहित चालू आर्थिक वर्षका १० महिनाभित्रमा राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा साढे १२ अर्ब रुपैयाँ जम्मा गरेर ब्याज आर्जन गर्नेछ । राष्ट्र बैंकले २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म अर्थात् एक वर्षका लागि १ अर्ब ३० करोड ५५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको निक्षेपमा राख्नेछ, त्यसमध्ये १ अर्ब ४ करोड ४४ लाख रुपैयाँ क वर्गका वाणिज्य बैंकमा, १९ करोड ५८ लाख रुपैयाँ ख वर्गका विकास बैंकमा र ६ करोड ५३ लाख रुपैयाँ वित्त कम्पनीमा राख्नेछ ।
राष्ट्र बैंकका निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले सोमबारभित्रमा आवेदन दिनुपर्ने, कम्तिमा ५० लाख रुपैयाँ राख्नु पर्ने र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्ने सर्त राखिएको छ । यसअघि, वैशाख २ गते ३ अर्ब ८९ करोड ७१ लाख, गत फागुनमा २ अर्ब ४६ करोड ५६ लाख, माघमा १ अर्ब ४८ करोड, कात्तिकमा १ अर्ब ३९ करोड, असोजमा १ अर्ब ५४ करोड, भदौमा २२ करोड १५ लाख, र साउनमा ११ करोड १५ लाख रुपैयाँ एक वर्षे ब्याजमा लगाइसकेको छ ।
गत वर्ष राष्ट्र बैंकले स्वदेश तथा विदेशका विभिन्न बैंकमा गरेको लगानीबाट मात्रै ३२ अर्ब २७ करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
प्रकाशित समय : ००:५९ बजे


















