गृहपृष्ठ कोकाकोला पनि सगरमाथा सरसफाइ अभियानमा
कोकाकोला पनि सगरमाथा सरसफाइ अभियानमा
बहुराष्ट्रिय पेय उत्पादक कम्पनी कोकाकोला पनि सगरमाथा सरसफाइ अभियानमा जोडिएको छ ।कोकाकोलाले केन्द्रीय, प्रदेश र स्थानीय सरकार, नेपाली सेना, नेपाल पर्वतारोहण संघ र एसपीसीसीको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठूलो अभियानको सुरुवात गरेको हो । ‘क्लिन आवर प्राइड’ भन्ने नाराका साथ सुरु गरिएको अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यसको स्वच्छतालाई बचाइराख्ने लक्ष्य लिएको छ ।
पर्यटन विभागका निर्देशक डन्डुराज घिमिरेले सगरमाथा सरसफाइ अभियान सुरु गर्न खोजिरहेकै बेला कोकाकोला जस्तो कम्पनी यो अभियानमा सामेल हुने उत्साहले विशेष महत्व राख्ने बताए । त्यस्तै, खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष निम दोर्जी शेर्पाले गाउँपालिकाको प्रमुख उद्देश्य वरिपरिका हिमाली भूभागलाई सफा र स्वच्छ राख्नु भएको जानकारी गराए ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले सगरमाथा सरसफाइ अभियानका महत्वपूर्ण स्टेक होल्डर भएकोमा कोकाकोलालाई धन्यवाद दिए । त्यस्तै, सगरमाथा प्रदूषण नियन्त्रण संस्थाका सभापति आङ दोर्जी शेर्पाले नेपालका विभिन्न सरकारी र गैरसरकारी संघसंस्था, निजी संस्था तथा पर्यटन विभागका स्टेक होल्डर मिलेर यति ठूलो मापनमा सगरमाथाको सरसफाइ अभियान गर्न लागेको पहिलोपटक भएको बताए ।
कोकाकोला भारत र पश्चिम एसियाको सार्वजनिक मामला, सञ्चार र स्थिरता आयोगका उपाध्यक्ष इश्तेयाक अम्जदले यति ठूलो अभियानमा सहभागी हुन पाउनु गर्वको विषय भएको बताए । बोटलर्स नेपाल लिमिटेडका कार्यकारी निर्देशक प्रदीप पाण्डेले यस अभियानको एक हिस्सा बन्न पाएको भन्दै खुसी व्यक्त गरे ।
अभियानमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, वनजंगल तथा वातावरण मन्त्रालय, वातावरण विभाग, प्रदेश १ को उद्योग, पर्यटन, वनजंगल तथा वातावरण मन्त्राल, नेपाली सेना, खुम्बु पासाङ ल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुन्ज, बफर जोन व्यवस्थापन समिति, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, सगरमाथा प्रदूषण नियन्त्रण संस्था, डब्लूडब्लूएफ नेपाल, नेपाल भ्रमण वर्ष २०२० तथा बोटलर्स नेपाल र नबिल बैंक, एनएमबी बैंक, प्रभु बैंक, तारा एयर र सोनम गियरको साथ छ ।
प्रकाशित समय : ००:४२ बजे


















