काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमाल आरोहणबाट ३३ करोड ४२ लाख बढी रोयल्टी सङ्कलन, मनास्लु र आमादब्लम धेरैको रोजाइमा

1.05K
shares

काठमाडौं । चालु शरद ऋतुको कार्तिक मसान्तसम्म हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरूबाट सरकारले ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुसार कार्तिक ७ गते २०८३ देखि मंसिर १, २०८३ सम्म देशभरका ४८ हिमाल आरोहणका लागि १८८ आरोहण दलका १ हजार ६३१ जनाले अनुमति लिएका छन् ।

विभागले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार आरोहण अनुमति लिनेमा १ हजार २५१ पुरुष र ३८० महिला रहेका छन्, जुन कुल आरोही सङ्ख्याको क्रमश : ७६.७ प्रतिशत र २३.३ प्रतिशत हो ।

यस अवधिमा कुल २१ लाख ९७ हजार ३६० अमेरिकी डलर अर्थात् नेपाली ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । यो ऋतुमा आरोहीहरूको सर्वाधिक रोजाइमा मनास्लु (८,१६३ मिटर) र आमादब्लम (६,८१४ मिटर) परेका छन् । कुल आरोहीमध्ये ५९.८ प्रतिशत र कुल रोयल्टीको ८८.९ प्रतिशत हिस्सा यी दुई हिमालले मात्र ओगटेका छन् ।

मनास्लु आरोहणका लागि ४३ दलका ३७३ पुरुष र १२७ महिला गरी ५०० जनाले अनुमति लिएका छन् । मनास्लुबाट मात्र २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी उठेको छ, जुन कुल रोयल्टीको ६७.६ प्रतिशत हो ।

त्यसैगरी, दोस्रो सर्वाधिक आकर्षक गन्तव्य बनेको आमादब्लमका लागि ४० दलका ३६० पुरुष र ११६ महिला गरी ४७६ आरोहीले अनुमति लिएका छन् । आमादब्लमबाट ७ करोड १३ लाख ४७ हजार १०० रुपैयाँ (४ लाख ६८ हजार अमेरिकी डलर) राजस्व सङ्कलन भएको छ ।

यसबाहेक हिमलुङ हिमाल (७,१२६ मिटर) का लागि १३ दलका १३० जना, बरुणत्से (७,१२९ मिटर) का लागि ६ दलका ६५ जना, थापा पिक (धम्पुस) का लागि १४ दलका ६३ जना र चुलु फार इस्टका लागि ६ दलका ५८ जनाले अनुमति पाएका छन् ।

आठ हजार मिटरभन्दा अग्ला अन्य हिमालमा पनि आरोहीको सहभागिता देखिएको छ । धौलागिरि प्रथम (८,१६७ मिटर) का लागि ६ दलका ३७ आरोहीबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी उठेको छ ।

त्यस्तै, विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि १ दलका ३ पुरुष र १ महिला गरी ४ जनाले अनुमति लिँदा ३० लाख ७० हजार रुपैयाँ (२० हजार डलर) राजस्व सङ्कलन भएको छ । मकालु प्रथम (८,४६३ मिटर) का लागि १ दलका ३ पुरुष आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागको ६ नोभेम्बर २०२६ सम्मको देशगत विवरणअनुसार यस समयमा विश्वका ७७ देशका १ हजार ६१३ आरोहीले अनुमति लिएका थिए । जसमध्ये चीनबाट सर्वाधिक १४६ जना (१०२ पुरुष र ४४ महिला) रहेका छन् ।

त्यसपछि फ्रान्सबाट १४३, संयुक्त राज्य अमेरिकाबाट १३०, रुसबाट १२१, संयुक्त अधिराज्य (बेलायत) बाट ११२ र जर्मनीबाट १०० आरोही सहभागी छन् । नेपालबाट ८३ पुरुष र ५ महिला गरी ८८ जनाले आरोहण अनुमति लिएका छन् ।

यस्तै इटालीबाट ६४, स्पेनबाट ५६, स्विट्जरल्यान्डबाट ५१, अस्ट्रेलियाबाट ४६, क्यानडाबाट ४५, चेक रिपब्लिकबाट ४४, पोल्यान्डबाट ४३ र भारतबाट ४० आरोही रहेका छन् ।

अन्य हिमालतर्फ पुथा हिउँचुली र सारिबुङमा ३९–३९ जना, थोरोङ पिकमा २५ जना तथा अन्नपूर्ण चौथोमा १९ जनाले अनुमति लिएका छन् ।

हिमालतर्फको यो उत्साहले नेपालको पर्वतीय पर्यटन थप चलायमान बन्दै गएको देखिन्छ ।