काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालको राजनीति दलाल र पुँजीवादीको दुश्चक्रमा फसेको छ : घनश्याम भुसाल

22.58K
shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद घनश्याम भुसालले नेपालको राजनीति दलाल र पुँजीवादीको दुश्चक्रमा फसेको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा भाग लिँदै मंगलबार सांसद भुसालले भने, ‘राजनीतिक दलहरु पनि माथिदेखि तलसम्म दलाल र पुँजीवादीको दुश्चक्रमा फसेका छन्, यसको नेक्ससले हाम्रो विकासलाई, हाम्रो अधिकारलाई, हाम्रो लोकतन्त्रलाई र हाम्रो स्वतन्त्रलाई निरन्तर खुम्च्याइरहेको छ ।’

सांसद भुसालले जे भने-
राजनीतिक पार्टीमा अरुमा निर्भर मान्छेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । दलाल पुँजीपतिहरुको स्तर विश्लेषण गर्दै जाने हो भने सबैभन्दा माथि निर्देशकहरु छन् । उनीहरुले राज्यलाई के गर्नुपर्छ, बाहिर के गर्नुपर्छ, यो सारा कुराको खटनपटन गर्छन् । तिनीहरुभन्दा तल व्यवस्थापकहरु छन् । दलाल पुँजीपतिको संरचनामा पार्टीहरुभित्र नै व्यवस्थापक छन्, जसले तलको उपभोक्ता समितिदेखि, भन्सारदेखि, खोला खानी यी सबैको नियन्त्रण गर्छन् । तिनका वरिपरि धेरै छन् ।

तिनले कसैलाई अलिकति पैसा दिएर लेख्न लगाउँछन्, बोल्न लगाउँछन् र एउटा जनमत तयार पार्छन् । त्यसको वरिपरि अर्को एउटा समूह छ । त्यसलाई अलि लडाकु समूहभन्दा हुन्छ, बाउन्सर टाइपको हुन्छ, त्यसको त्यो व्यवस्थापकीय पक्ष र त्यो माथिको निर्देशक पक्षका लागि काम गर्छ । यसरी राजनीतिक पार्टीहरु तलदेखि माथिसम्म दलाल पुँजीपतिहरुको यो प्रक्रियामा मुसिएका छन् । यिनले समाजलाई नै निरन्तर करप्ट (भ्रष्ट) बनाउँदै छ । उनीहरु आफू करप्ट छन् र अरुलाई करप्ट बनाउँदै लैजाँदैछन् ।

यसरी भ्रष्टाचार झन् बलशाली हुँदैछ । बलशाली भ्रष्टाचारले समाजमा झन् भ्रष्टाचार गर्ने दुश्चक्र चलिरहेको छ । यो दुश्चक्र नतोड्ने हो भने कहिले राज्यबाट र कहिले बाहिरबाट विधिविधानमा हुने बलमिच्याइँलाई यसले प्रश्रय पु–याइरहेको छ । खास समयमा तिनीहरुको एकता खास मुद्दाले गराउँछ । ठूला भ्रष्टाचारहरु, अरबभन्दा ठूला भ्रष्टाचारहरु तल ब्युरोक्रेसीले मात्र गर्दैन, यद्यपि कहिलेकाहीँ कारबाही भयो भने त्यही पर्छ । तर, ठूला भ्रष्टाचार एक्लै हुँदैन अर्थात् त्यो राष्ट्रिय सहमतिमा मात्रै हुन्छ । दलाल, पुँजीवाद र परजीवी राजनीतिक संरचनाका कारण यस्तो भएको हो । यसको नेक्ससले हाम्रो विकासलाई, हाम्रो अधिकारलाई, हाम्रो लोकतन्त्रलाई, हाम्रो स्वतन्त्रलाई निरन्तर खुम्च्याइरहेको हुन्छ ।

कांग्रेस अझै हारको पीडाबाट ब्युँझेको छैन
हामी त सत्ताधारी हौं, सरकार चलाउनुपर्नेछ, बजेट बनाउनुपर्नेछ, लागू गर्नुपर्नेछ, अन्य काम गर्नु छ, धेरै काममा व्यस्त छौं । कमसे कम प्रतिपक्षले केही गर्छ कि भनेको प्रतिपक्ष त अझै त्यो पराजयको पीडाले ब्युँझेको पनि छैन, त्यो यसरी घाइते भएको छ कि त्यो पराजयको पीडाबाट उठेको पनि छैन । जागरण कार्यक्रममा पनि राष्ट्रिय राजनीतिमाथि बहस हुँदैन, कुरा उठाइँदैन । एकदमै खुद्रा, मसिना कुरा गर्छ तर यो मुलुकका मूल, ऐतिहासिक र आधारभूत समस्या के हुन् ? अझ प्रस्ट भन्नुपर्दा दलाल पुँजीवाद, जसले हाम्रो सम्पूर्ण चिजलाई रगड्छ र रगडिरहेको छ, त्यसबारे बोल्दैन, कुनै वक्तव्यमा सुनिँदैन, कुनै भाषणमा सुनिँदैन । त्यसकारण पनि हामी खतरामुक्त छैनौं । यसकारण हाम्रो लोकतान्त्रिक गणतन्त्र खतरामुक्त छैन ।