गगन थापाको कटाक्ष- बजेट पढेर नेकपाको चरित्र थाहा पाइन
वि.सं.२०७६ जेठ २१ मंगलवार २०:३६
shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बजेट पढेर आफूले नेकपाको चरित्र थाहा पाउन नसकेको भन्दै कटाक्ष गरेका छन् । मंगलबार आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद थापाले भने, ‘बजेटले लिएको दिशा र नेकपाको चरित्रबीच कुनै तालमेल नभएर हुनसक्छ, मैले बजेट पढेर नेकपाको चरित्र थाहा पाउन सकिन ।’
नेकपासँग संख्या छ तर सिद्धान्त छैन भन्दै उनले सिद्धान्तविहीन पार्टीले दिशाविहीन बजेट बनाएको बताए । सांसद अर्बौं, खर्बौंको बजेटमा आफ्नो नीतिगत हिस्सा चाहन्छ भन्दै उनले ६ करोड दिएर सांसदलाई मन्दिरको पर्खाल निर्माणमा केन्द्रित गरेको गुनासो गरे । ‘म यो देशको सांसद हुँ, ठूला परियोजना निर्माणमा आफ्नो सहभागिता चाहन्छु, तर सरकार मलाई ६ करोड दिएको छु भन्दै मन्दिरको पर्खाल निर्माणमा सीमित गर्छ,’ उनले भने ।
नेपालको अहिलेसम्मकै बलियो सरकारले बनाएको विद्वान अर्थमन्त्रीबाट देशले भने केही नपाएको उनले बताए । ‘बाआमाले थप १ हजार रुपैयाँ र सांसदले थप २ करोड ?’ उनले प्रश्न गरे, ‘आगामी फागुनमा बिदा हुँदै गर्दा यिनै दुई कामले आफ्नो नाम राख्नमै सन्तोष हुनुहुन्छ भने मेरो भन्नु केही छैन ।’

























