संविधान संशोधन जरुरी छ : प्रचण्ड
वि.सं.२०७६ जेठ २१ मंगलवार २२:२३
shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायले सचेत भएर संविधानको इमानदार कार्यान्वयनका लागि दबाब नदिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुनेतर्फ सचेत गराएका छन् । काठमाडौंमा मंगलबार आयोजित ‘जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको अवस्था’ विषयक अन्तर्क्रियामा उनले भने, ‘संविधानको इमानदारी साथ कार्यान्वयन गर्न दबाब सिर्जना गर्न म सबै समुदायलाई आह्वान गर्दछु ।’
पार्टीभित्र पनि दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको उल्लेख गर्दै उनले त्यसको अन्त्यका लागि पार्टी र सरकार दुवैमा उजुरी दिन पनि नेता– कार्यकर्तालाई निर्देशन दिए । प्रचण्डले ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको इमानदार कार्यान्वयनका लागि जागरण अभियान सञ्चालनको आवश्यकता औंल्याए । अध्यक्ष दाहालले संविधान सम्झौतामा तयार गरिएको दस्तावेज भएकाले केही नराम्रा पक्ष पनि रहेको उल्लेख भन्दै त्यसलाई हटाउन संविधान संशोधनमा पनि जोड दिए ।

























