बजेटको आकार ठूलो, कार्यान्वयन फितलो : शशांक कोइराला
वि.सं.२०७६ जेठ २१ मंगलवार २३:०४
shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले सरकारले हरेक वर्ष ठूलो बजेट ल्याउने तर कार्यान्वयन भने फितलो हुने गरेको आरोप लगाएका छन् । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलका क्रममा सांसद कोइरालाले बजेटमा उल्लेख भएका कुरा कार्यान्वयन नहुँदा अपेक्षित परिणाम आउन नसकेको बताएका हुन् ।
सरकारले बोलेरमात्रै होइन, गरेर देखाउनुपर्नेमा उनको जोड छ । पाइलैपिच्छे उठाएको राजस्वको सही सदुपयोग हुन नसकेको भन्दै उनले मुद्रा स्फीति ६ प्रतिशतमा सीमित गर्दा महँगी महुलाउने आशंका व्यक्त गरे । केही वर्षयता नेपालमा वैदेशिक अनुदान र ऋण क्रमशः घट्दै गएको तर्फ सचेत गराउँदै उनले वैदेशिक लगानी भित्र्याउन सरकार चुकिरहेको अरोप लगाए । मुलुकमा लगानीको वातावरण नभएकाले पनि वैदेशिक लगानीकर्ता पलयान हुँदै गएको उनको भनाइ छ ।

























