काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुदूरपश्चिमका पहाडी जिल्लामा छायो जात्राको रौनक 

19.43K
shares

ठूला चाड दसैं, तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक छाएको छ । कात्तिक शुक्ल पक्षमा सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला तथा डोटीमा रहेका शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने भएकाले जात्राको रौनक छाएको केआइसिंह गाउँपालिकाका स्थानीय तथा पुजारी जयराज जोशीले बताए ।

कात्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गर्दछ । कात्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा कात्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहिआएको स्थानीय बूढापाका बताउँछन् । जात्राका लागि अहिले सुदूरपश्चिमका सबै जिल्लासँगै जात्रामा दर्शन गर्नका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने क्रम सुरु भइसकेको छ ।

यहाँका विभिन्न शक्तिपीठमा लाग्ने जात्रामा दर्शन गर्नका लागि अहिले तराईका जिल्लाबाट पहाड आउनेको संख्या दिनानुदिन बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मोहनसिंह धामीले बताए । डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपीठ ठुलाकेदार, मसानी, शैलेश्वरी, सालमुनिलगायत मन्दिरमा जात्राको तयारी भइरहेको छ । त्यस्तै डोटीको जोरायल गाउँपालिका-५ गड्सेरास्थित मसानी जात्रा, डडेल्धुराको उग्रतारा, भागेश्वरलगायतअन्य मन्दिरमा कात्तिक शुक्ल पक्षमै मेला लाग्छ ।

ठूलाकेदार जात्राको दर्शनका लागि पनि सुदूरपश्चिम प्रदेशका सबै जिल्लासँगै भारतको उत्तराखण्ड, उत्तर प्रदेशलगायतबाट पनि भक्तजन आउने गरेका बडीकेदार गाउँपालिकाका स्थानीय खड्कबहादुर बोहराले बताए । उक्त ठूलाकेदार जात्रा आउँदो मंसिर ५ गते चतुर्थीका दिन हुने भएको छ । राष्ट्रकै सातौँ धामका रुपमा रहेको दार्चुलाको मालिकार्जुन धाम, लटिनाथलगायतका मन्दिरमा पनि जात्रा लाग्ने भएपछि दार्चुला क्षेत्रमा पनि चहलपहल बढेको मालिकार्जुन क्षेत्रका मुखिया रुद्र धामीले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । वर्षभरिमा यी धार्मिक क्षेत्रमा कम्तीमा पनि दुई पटक मेला तथा जात्रा लाग्ने गर्छ । सुदूरपश्चिमका पहाडी क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार र यी क्षेत्रमा पूर्वाधारको विकास नहुँदा पर्यटक भित्र्याउन समस्या हुँदै गएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए । (रासस)