गृहपृष्ठ ३४ वर्षमा पनि बनेन ‘चिलगाडी बस्ने ठाउँ’
३४ वर्षमा पनि बनेन ‘चिलगाडी बस्ने ठाउँ’
सम्झिल्याउने हो भने, के–के मात्रै भएन यस बीचमा । पञ्चायती शासन ढल्यो, बहुदल आयो । देशले १० वर्षे सशस्त्र द्वन्द्व झेल्यो । राजतन्त्र समाप्त भयो, गणतन्त्र आयो । ठूला–ठूला परिवर्तन भए नेपालमा । राजनीतिक दलहरु पटक–पटक फुटे । र उति नै पटक जुटे पनि यस बीचमा, अर्थात २०४२ सालदेखि हालसम्म । हुन पनि यो ३४ वर्षको अवधि ‘एक युग’ नै हो ।
‘देशमा विकास भएन’ भनिरहँदा नेपालले भौतिक पूर्वाधारका क्षेत्रमा धेरै नै आयोजना/परियोजनाहरु सम्पन्न गरिसक्यो । सडक, पुल, विमानस्थललगायत थुप्रै विकास निर्माणका काम भए । नहोस् पनि कसरी ? ३४ वर्ष अर्थात् यो ‘एक युग’को अवधिमा ।
तर विडम्वना, देशकै विकट र पिछडिएको क्षेत्र मानिने/भनिने कर्णालीमा भने एउटा यस्तो भौतिक पूर्वाधारको काम भइरहेको छ । जसले माथि भनिएको ‘देशकै विकट र पिछडिएको क्षेत्र मानिने/भनिने’ पुरानो हुँदै जानुपर्ने यस कथनलाई झन् सान्दर्भिक बनाइदिएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिका– १ (साविक कोटवाडा गाविस) मा २०४२ सालदेखि निर्माण भइरहेको सुनथराली विमानस्थल आजसम्म निर्माण पूरा भएको छैन । निर्माण सुरु गर्दाताका स्थानीयहरुले ‘चिलगाडी बस्ने ठाउँ’ नाम दिएको यो विमानस्थलबाट चिलगाडीमा उड्ने स्थानीवासीको सपना बिपनामा परिणत हुन सकेको छैन । बरु यो विमानस्थल अनेकन् कथा–व्यथाहरुको साक्षी बनिरह्यो ।

२०५८ सालमा अछाम सदरमुकाम मगलसेन आक्रमण गरी भागेका माओवादीको खोजीमा हिँडेका सुरक्षा फौजको आक्रमणमा परी विमानस्थलमा काम गरिरहेका धादिङ जोगिमाराका १७ सहित ३५ जना मजदुर मारिए । त्यसपछि काम नै अवरुद्ध मात्र भएन । कहिले माओवादीको परेड खेल्ने स्थल त कहिले बम खसाल्ने सुरक्षाकर्मीको बंकर बन्यो सुनथराली विमानस्थल ।
विमानस्थलनजिकै घर भएका गणेश विष्टलाई अचम्म लाग्छ, ३४ वर्षको अवधि सम्झँदा । ‘यतिका वर्षमा के–के भए । कति मानिस कहाँ–कहाँ पुगिसके । तर बन्ला भनेको विमानस्थल जस्ताको तस्तै,’ उनी दिक्दारिन्छन् । अब पनि विमानस्थल बन्ला भन्ने उनलाई लाग्दैन । ‘यसको काम थाल्दा सानै थिएँ । मेरै आधा उमेर गइसक्यो । खै त अझै काम सकिएको छैन । यो विमानस्थल बन्ला र ?’ सुनथराली विमानस्थल बन्नेमा उनी विश्वस्त छैनन् ।
नरहरिनाथ– ३ का देवीराज उपाध्याय पनि ‘विमानस्थल बन्ला र गाउँबाटै हवाइजहाज चढ्न पाइएला’ भन्नेमा आशावादी छैनन् । ‘३४ वर्षसम्म पनि नबनेको विमानस्थल अब बन्ला भन्ने आश हराइसक्यो । हाम्रो पालामा त यस्तो हो, छोरानातिको पालमा चाहिँ कुन्नि !’ उनले निराशा व्यक्त गरे । सुुनथराली विमानस्थल नाममा मात्र बनेको उनले बताए । विमानस्थलको काम पूरा गर्ने र नियमित उडान गर्ने कुरा चुनावी नारा मात्र भएको उपाध्यायको गुनासो छ ।

३४ वर्षमा पनि एउटा विमानस्थलको निर्माण पूरा नहुनुलाई विडम्वना नै मान्छन् सुनथराली विमानस्थल सरोकार समाजका संयोजक धनराज वास्तविक । ‘कर्णालीलाई हेर्ने राज्यको दृष्टि कस्तो छ भन्नका लागि यो एउटै उदाहरण काफी छ । वेवास्ताको पराकाष्ठा योभन्दा अरु के हुनसक्छ ?’ उनले आक्रोश पोखे ।
समाजले गत कात्तिक ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मन्त्री भट्टराईबाट सकारात्मक प्रतिक्रया पाएको संयोजक वास्तविक बताउँछन् । ‘मन्त्री ज्यूले आश्वासन दिनुभएको छ,’ वास्तविकले भने, ‘उहाँलाई हामीले केही गरौँ भन्ने भावाना भएको मन्त्री भनेर बुझेका छौँ । त्यसैले यसपटक केही होला भन्नेमा आशा बढेको छ ।’
तत्कालीन संस्कृति, पर्ययटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीको सक्रियता तीन वषअघि विमानस्थलमा परीक्षण उडानसमेत गरिएको थियो । २०७३ साल माघ २९ गते ६ सय ५० मिटर लामो धावन मार्ग भएको सुनथराली विमानस्थलमा तारा एअरको विमान अवतरण गरेको थियो । परीक्षण उडान सफल भएपछि काठमाडौँसम्म कालिकोटको सिधा हवाई सम्बन्ध जोडिने महसुस गरेका स्थानीयवासी अहिले निराश छन् ।

विकास र समृद्धिलाई मूलमन्त्र बनाएको वर्तमान सरकारले कुनै पनि हालतमा सुनथराली विमानस्थल सञ्चालन गर्नुपर्ने सरोकार समाजका संयोजक वास्तविकको माग छ । ‘सुनथराली विमानस्थल निमार्ण कार्य सम्पन्न हुन सकेन र नियमित उडानका बारेमा सरकार र मन्त्रालय गम्भिर भएन भने कालिकोटका बासिन्दा विकास र समृद्धिको नाराबाट थप विमुख हुनेछन्,’ उनले भने ।
सुत्केरी, दुर्घटना भएका घाइतेलगायत उपचारका लागि तत्काल अन्यत्र लैजानुपर्ने बिरामीका लागि पनि कालिकोटमा विमानस्थल अनिवार्य भएको वास्तविक बताउँछन् । ‘गाउँमा विमानस्थल बन्न थालेको ३४ वर्ष भयो । यसबीचमा तत्काल उपचार नपाएर कतिले ज्यान गुमाए होलान् । यो समस्या अन्त्यका लागि पनि सुनथराली विमानस्थलमा हवाइसेवा सञ्चालन हुनैपर्छ,’ उनको भनाइ छ ।
नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट भने कालिकोटवासीको सपना साकार हुनेमा आशावादी छन् । न्युजकारोबारसँगको कुराकानीमा उनले भने, ‘पछिल्लो समय विमानस्थलमा भइरहेको काम हेर्दा सुनथरालीमा हवाइजहाज आउनेप्रति आशा पलाएको छ । अहिले धेरै काम भइरहेका छन् ।’ धावनमार्ग कालोपत्रे गर्ने काम भइरहेको उनले बताए । उनका अनुसार सुरक्षाकर्मी बस्ने भवनहरुको निर्माण ठेक्का लागिसकेको छ । टावर निर्माणका लागि पनि टेण्डर आव्हान गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘दुर्गम क्षेत्र भएकाले पनि काममा ढिलाइ भएको हो । बीचमा सशस्त्र द्वन्द्वका कारण पनि भनेजसरी काम हुन सकेन । अब कामले गति लिन्छ,’ उनले भने ।
प्रकाशित समय : १७:०० बजे


















