global ime bank Long Banner Ad

गृहपृष्ठ लापु गाउँका बालबालिकालाई न्यानो कपडा वितरण

लापु गाउँका बालबालिकालाई न्यानो कपडा वितरण

लापु गाउँका बालबालिकालाई न्यानो कपडा वितरण

वैदेशिक रोजगारीमा रहेका शिवप्रसाद पन्तलगायतको सात जनाको टोलीले शनिबार मुगुको छायानाथ रारा नगरपालिका-१३ लापु गाउँका ३४ विद्यार्थीलाई न्यानो कपडा, विद्यालयलाई हिल ट्यांकी, फिल्टरलगायत २८ घरधुरीलाई कम्मल वितरण गरेका छन् ।

पन्त काठमाडौंको नार्गजुन नगरपालिका-१० साविकको स्युचाटार-४ का का हुन् । कामको सिलसिलामा मकाउ बस्दै आएका पन्तले लापु गाउँ दलित बस्तीको पीडादायक अवस्थाबारे विभिन्न सञ्चारमाध्यमबाट जानकारी पाएपछि आफूलगायत वैदेशिक रोजगारमा रहेका केही साथीहरुले यो बस्तीमा सहयोग गर्ने योजना बनाएअनुसार २ लाख ५० हजार रुपैयाँ बराबरका सामग्री सहयोग गरेको जानकारी दिए ।

लन्डन बस्दै आएका भरत पाण्डे, मकाउ बस्दै आएका विष्णुप्रसाद श्रेष्ठ, जंगबहादुर गुरुङ, रङबहादुर गुरुङ र दीपक रानाभाट, अमेरिका बस्दै आएकी प्रियंका लामिछानेको सहयोगमा लापु गाउँका दलित बस्तीका २८ घरधुरीका स्थानीयलाई कम्बल, नमुना आधारभूत विद्यालय लापुका ३४ विद्यार्थीलाई न्यानो कपडा, जुत्ता मोझा, झोला टोपी, शैक्षिक सामग्रीलगायत नमुना आधारभूत विद्यालयलाई पानीखाने राख्ने ५ सय लिटरको हिल ट्यांकी र फिल्टर सहयोग गरिएको हो ।

विगतका धेरै वर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गर्दै आए पनि यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण सहयोग भएको उनको भनाइ छ ।

आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा किन्न नसक्ने लापुवासी न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् । जाडोको सिजन सुरु भएको छ । लुगा किन्ने पैसा पनि थिएन । मनकारी भावना बोकेका पन्तलगायतको टोलीप्रति कृतज्ञ भएको स्थानीय गोरा विकले बताए ।

पन्तले यसअघि लामो समयदेखि धादिङको चेपाङ बस्तीका बालबालिकाको शिक्षा तथा शैक्षिक सामग्री र विद्यालयलाई सहयोग गर्दै आएका थिए । (रासस)

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु