global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटकको आकर्षण बन्दै तारेभिर पोखरी

पर्यटकको आकर्षण बन्दै तारेभिर पोखरी

पर्यटकको आकर्षण बन्दै तारेभिर पोखरी

कालान्तरदेखि वर्षातको पानी संकलन गरी वस्तुभाउसँगै कृषिमा उपयोग गर्दै आएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर पर्यटकीय गन्तव्य बनेको छ ।

पर्यटकीय नगरी पोखराको वडा नं २२ पुम्दीभुम्दीस्थित तारेभिर पोखरी संरक्षण र आवश्यक भौतिक संरचना निर्माणसँगै यो आन्तरिक एवं बाह्य पर्यटकको पनि आकर्षण बनेको हो । स्थानीय ९२ वर्षीय जंगबहादुर गुरुङका अनुसार खानेपानीको समेत अभाव रहेको तत्कालीन अवस्थामा पशुपालन र खेत रोप्नका लागि तारेभिर पोखरीको पानी प्रयोग गर्दै आइएको थियो ।

गाउँको सिरानमा रहेको पोखरीमा वर्षौंभर पानी रहने गरेको अनुभव सुनाउँदै उनले त्यस समयमा पशुलाई पोखरीमै लगेर पानी खुवाउनुको साथै भैँसीका लागि आहाल बस्न उपयोगी भएको थियो । गाउँको इतिहासको साक्षीजस्तै बनको पोखरी यतिखेर संरक्षण र पूर्वाधार विकाससँगै पर्यटकीय गन्तव्य जस्तै बनेको उनले बताए ।

त्यस समयमा खानेपानी भने आधा घण्टा लगाएर धाराखोलाबाट ल्याउने गरेको उनले जानकारी दिए । अहिले भने पातलाखर्कबाट पाइपमा ल्याइएको पानीका धारा घरघरमा रहेको उनले बताए । समुद्री सतहदेखि लगभग १ हजार ६ सय मिटरको उचाइमा अवस्थित २० मिटर लम्बाइ, १५ मिटर चौडाइ रहेको पोखरीको गहिराइ साढे एक मिटर रहेको वडासदस्य चेतभक्त बरालले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगर वडास्तरीय बजेट २ लाख ५० हजार रुपैयाँ र हरियो वन कार्यक्रमको ७५ हजार रुपैयाँ एवं स्थानीय जनसहभागिता परिचालन गरी लगभग ४ लाख रुपैयाँको लागतमा पोखरीको पुनर्निर्माण गरिएको हो । पोखरीको चारैतर्फ पक्की पर्खाल लगाई करिब १० मिटर उचाइको तारजालीले बारेर दुई वटा ढोका राखेपछि संरक्षणसहित सफा र सुन्दरतामा सहयोग पुगेको उनले जानकारी दिए ।

आफू सानो हुँदा पोखरीको पानीमा पौडी खेल्ने गरेको स्मरण गर्दै स्थानीय डिलबहादुर गुरुङले अहिले संरक्षण गरेसँगै पोखरीमा माहुर जातका ८ सय माछाका भुरा हालेको बताए । पोखरीमा अहिले भैँसीलाई आहाल बस्न नदिने गरी संरक्षण गरिएको बताउँदै उनले पोखरीको निकासबाट तल्लो भेगमा रहेको दस घर परिवारको लगभग १५ हल खेतमा सिँचाइको सुविधा पुगेको बताए ।

अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत मनोरम हिमशृंखलासहित फेवाताल र केही पोखरा बजारको समेत दृश्यावलोकन गर्न सकिने उक्त स्थानमा अहिले पनि दैनिक ५० देखि १ सयसम्म पर्यटक आउने गरेको उनको भनाइ छ । पोखरीबाट नजिकै रहेको पुम्दीभुम्दीको कालाबाङ घडेरी घरवास कार्यक्रममा आउने पाहुनालाई उक्त रमणीयस्थलसम्म पुर्‍याउने पहल भइरहेको बताउँदै उनले यसको प्रचारप्रसारको आवश्यकता रहेको औँल्याए ।

तारेभिर पोखरीको आँगनमा रहेको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसादले पोखरीलाई विद्यालयको आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताए । विद्यालयमा हाल ४० विद्यार्थी अध्ययनरत छन् । पोखरा-सिद्धार्थ राजमार्ग खण्डको छोरेपाटनदेखि पर्यटकीयस्थल शान्ति स्तूपा हुँदै पलाइचे गाउँको सिरानमा रहेको उक्त पोखरीसम्म पुग्नको लागि कच्ची मोटर बाटो निर्माण गरी यातायाताको सुविधासमेत पुगेको छ ।

तत्कालीन आवश्यकताका लागि पुर्खाले सयौँ वर्षअघि खनेका तारेभिरजस्तै प्राचीन पोखरीको संरक्षणसहित पर्यटन प्रवर्द्धन गर्न सके ग्रामीण क्षेत्रमा हुने प्रांगारिक उत्पादनको बजारीकरणमा सहयोग पुग्ने र स्थानीय बासिन्दाको आयआर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । (हरि बाँस्तोला/रासस)

प्रकाशित समय : १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु